हनुमन्ते सफाइ अभियानमा १० टन फोहोर संकलन

भक्तपुर। हनुमन्ते नदी सफाइ अभियानको आज २२ औं हप्ता अरनिको राजमार्ग खण्ड अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाईमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १० टन फोहर संकलन गरिएको सफाइ अभियन्ता अर्जुन श्रेष्ठले जानकारी दिए।

नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं अभिनेत्री लक्ष्मी गिरीको आतिथ्यमा भएको सफाइ अभियानमा चार सयभन्दा बढीको सहभागिता थियो ।

अभियानमा प्रतिनिधिसभा सदस्य बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीहरु सहभागि थिए ।

प्रतिनिधिसभा सदस्य बस्नेतले खोला मिच्ने प्रबृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर हनुमन्ते खोलाको जग्गालाई व्यक्तिको नाममा गरिएकाको जग्गा फिर्ता गराइने बताए ।

उनले हनुमन्ते करिडोर निर्माणको लागि सरकारले रु ८१ करोड बजेट बिनियोजन गरेर काम शुरु गरेको बताउँदै करिडोर निर्माणपछि डुबानमा नपर्ने विश्वास व्यक्त गरे।

फोहोर संकलनको क्रममा गठ्ठाघरमा भएको नागरिक अस्पतालले आफ्नो फोहोर लुकाएर सडकको किनारामा फाल्ने गरेको भेटिएको छ ।

अस्पतालमा प्रयोग भएका सिरिञ्ज, अन्य सामानसमेत फालिएको पाइएपछि अस्पतालले लापर्वाही गरेको भन्दै अभियन्ताले आक्रोश व्यक्त गरेका थिए ।

एक पटकलाई सचेत गराइएको र फेरि अस्पतालको फोहर सडकपेटीमा फालिए कडा कारबाहीको माग गरिने अभियन्ताले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?