पीडितलाई करिब रु तीन लाख राहत वितरण

लमजुङ। आर्थिक वर्ष ०७४-७५ मा जिल्लामा भएका विपद्का घटना पीडितलाई करिब रु तीन लाख राहत वितरण गरिएको छ ।

जिल्लामा बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी तथा असिनाबाट क्षति पुगेका विभिन्न परिवारलाई रु दुई लाख ९२ हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा विपद्बाट करिब रु एक करोड पाँच लाख ४३ हजारभन्दा बढी क्षतिको अनुमान गरिए पनि आपत्कालीन उद्धारका निम्ति सो रकम राहत उपलब्ध गराएको विपद् व्यवस्थापन समितिले जनाएको हो ।

गत आर्थिक वर्षमा विपद्बाट जिल्लाका ६७ घर पूर्ण क्षति भएको र चार घर आंशिक क्षति भएको थियो । चट्याङबाट एकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

समितिका अनुसार हावाहुरी र असिनाबाट क्षति पुगेका ४१ घर परिवारले रु २७ हजार राहत पाएका छन् । चट्याङबाट क्षति भएका तीन घर परिवारले रु ३० हजार  राहत पाएका छन् । चट्याङबाट मृत्यु भएका परिवारलाई राहत रकम वितरण गर्न बाँकी रहेको समितिले जनाएको छ ।

आगलागीबाट क्षति भएका १४ घरपरिवारलाई रु एक लाख १३ हजार राहत वितरण गरिएको छ । बाढी पहिरोबाट पूर्ण क्षति भएका नौ र आंशिक क्षति भएका चार घरपरिवारलाई रु एक लाख २२ हजार राहात वितरण गरिएको समितिले जनाएको छ ।

जिल्लाको क्वोलासोथारको भोजेगाउँ, मस्र्याङदीको चिप्ला र दोर्दीकै फलेनी बस्ती जोखिममा रहेको वर्षौं भए पनि हालसम्म स्थानान्तरण हुन नसक्दा पुनर्निर्माण प्राधिकरणबाट प्राप्त रकम पनि खर्च हुन नसकेको समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?