काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन्।
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक संघ (एओर्याब)ले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको बताएका हुन्।
प्रमुख आयुक्त थपलियाले नागरिकको प्रतिनिधि छान्न पाउने अधिकारप्रति सचेत गराउँदै आफ्नो कर्तव्य गराउन सञ्चारमाध्यम महत्वपूर्ण सारथी भएकाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे । ‘आचारसंहिता आफैमा एक नैतिक बन्धन हो।
यो स्वनियन्त्रण र स्वअनुगमनको औजार पनि हो। यसलाई आत्मसमीक्षाको हतियार प्रयोग गरेर कार्यान्वयन गर्न सकिन्छ । सबैले पालना गर्छु भनेर मानेको आचारसंहिता पालना हुँदैन भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ’, उनले भने, ‘निर्वाचनका समयमा सामाजिक सञ्जालमा असामाजिक चरित्र प्रदर्शन गर्ने र अरुको चरित्रमा प्रश्न उठाएर आत्मसम्मानमा ठेस पुर्याउने काम गर्नु अमानवीय हो । त्यसैले सञ्जालहरुमा मिथ्या सूचना, भ्रमपूर्ण सूचना र द्वेशपूर्ण अभिव्यक्ति नदिन हामी सबै प्रतिबद्ध होऔँ ।’
प्रमुख आयुक्त थपलियाले नेपालको लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र निर्वाचनका लागि नेपाली प्रेसले वकालत गर्दै रुपान्तरणको साक्षी बनेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै खुला र सम्मुनत समाज निर्माणका लागि कलम र आवाज बोक्ने सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
आयोगका प्रवक्ता एवं सहसचिव शालीग्राम शर्मा पौडेल, पत्रकारिता क्षेत्रका अगुवा र संस्थका प्रतिनिधि सहभागी कार्यक्रममा संघले तयार गरेको निर्वाचनका समयमा रेडियो र रेडियोकर्मीले गर्न हुने र नहुने बुँदामा आधारित आचारसंहिता जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया