चितवन दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या सात पुग्यो, तीनको सनाखत

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइतेको उद्धार गरिएको छ ।

चितवनको इच्छा मनकामना गाउँपालिका–३ को चुम्लिङटार सडक खण्डमा ना ६ ख २५०६ नम्बरको बस सडकबाट सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका मध्ये ३ को सनाखत भएको छ ।

मृत्यु हुनेमा तनहुँका अन्दाजी ४० वर्षका बाबुराम तिवारी, काठमाडौं बस्ने ३० वर्षीय रविन गुरुङ, तनहुँ, भानु नगरपालिकाका २७ वर्षीय सुमित श्रेष्ठको सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार मृत्यु हुनेमा एक बालक र दुई महिला छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने क्रममा ना ५ ख ७४०९ नम्बरको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

ठक्कर दिएको ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ भने दुर्घटनास्थलमा घाइतेको उद्धार भइरहेको छ ।

तस्वीरः धनबहादुर गुरुङको फेसबूकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?