श्रम मन्त्रीको पाँच दिने मलेसिया भ्रमण सम्पन्न, विविध विषयमा निर्णय

लोकपथ
42
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित प्रतिनिधिमण्डलको पाँच दिने मलेसिया भ्रमण सकिएको छ ।

श्रम मन्त्रीको नेतृत्वमा रहेको टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल सम्मिलित थिए । टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन, गृह मन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँको सामाजिक सुरक्षा संगठनका महासचिवसँग द्विपक्षीय बैठक गरेको छ ।

बैठकमा मानव संसाधन मन्त्रीसँग मलेसियामा रहेका नेपाली श्रमिकका समग्र विषय तथा गृहमन्त्री जैनुदिनसँग मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डको तलब बढाउने लगायतका विषयमा छलफल तथा निर्णय भएका श्रम मन्त्रालयले जनाएको छ ।

मलेसियाका मानव संशाधन मन्त्रीसँगको उच्चस्तरीय बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ ।

मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने र रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने कुरामा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल र मलेसियाबीच आगामी जुन महिनाभित्र गरिनेसंयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेसियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने निर्णय पनि भएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय टोली र मलेसियाको सामाजिक सुरक्षा संगठनका महासचिव सम्मिलित बैठकमा मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा बढी भन्दा बढी नेपाली कामदारलाई आवद्ध गराउन कामदारका लागि सचेतनामूलक र रोजगारदाताहरुको लागि जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपाली कामदारहरुले कार्यस्थलमा दूर्घटना हुँदा मात्र सामाजिक सुरक्षा संगठनको कार्यदायरामा आउने प्रावधानमा परिमार्जन गरी श्रम इजाजत कायम रहेको जुनसुकै समयमा हुने भवितव्यलाई समावेश गर्ने बारे पनि निर्णय भएको छ ।

नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच तथ्याङ्क आदानप्रदान गर्न वैदेशिक रोजगार विभागले सञ्चालन गरेको वैदेशिक रोजगारी सूचना व्यवस्थापन प्रणाली एफईआईएमससँग तादत्म्यता कायम गर्ने विषयमा पनि छलफल भएको छ ।

उच्चस्तरीय भ्रमणदलले नेपाली दूतावास क्वालालुम्पुरको निरीक्षण गरी दूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा समेत जानकारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?