आरोप, विवाद र आक्रोश : स्थापितको विस्थापित हुने संकेत !

२५ वर्षपछि पुनः काठमाडौं महानगरको मेयर बन्ने दाउमा छन्, केशव स्थापित । बेला–बेला चर्चा र विवादमा आइरहने स्थापितलाई नेकपा एमालेले काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाएको छ । त्यससँगै चुनावी प्रचारप्रसारमा हिँडेका स्थापितका केही आक्रामक र विवादित अभिव्यक्तिले झन् चर्चामा छन् ।

देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी चर्चामा रहने काठमाडौं महानगरपालिकाको नेतृत्वमा को आउला भन्ने चासो सबैको हुन्छ । महानगरको मेयरका लागि पूर्वमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको आकांक्षा रहनुले पनि यसप्रतिको चासो र महत्व पुष्टि गर्छ ।

त्यसो त २०५४ मा काठमाडौं महानगरपालिकाको मेयर बनिसकेका स्थापितको नाम आकांक्षीको रुपमा आउनु स्वाभाविक हो । त्यस बेला केही उल्लेखनीय काम गरेको भन्दै उनलाई पुनः ल्याउनुपर्ने मत धेरैको थियो ।

वर्तमान मेयर विद्यासुन्दर शाक्य विजयी भएपछि घोषणापत्रलाई सिरानीमा राखेर गुप्तवास बसेपछि स्थापित भएको भए ०५४ मा मेयर हुदाँजस्तै केही सुधारका काम गर्छन् कि भन्ने केही आशा थियाे ।

काठमाडौं महानगर कमिटीले महानगरको मेयरको लागि स्थापित, शाक्यसहित पूर्वमन्त्री समेत भइसकेका सांसद रामवीर मानन्धरको नाम समेत मेयरको उम्मेदवारको रुपमा सिफारिस गर्‍यो । अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापितलाई रोजे । स्थापितले एमालेको तर्फबाट मेयरको आधिकारिक उम्मेदवार बन्दै वैशाख १२ गते मनोनयन दर्ता गराए ।

बाजागाजासहित मेयरको उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृहमा पुगेका स्थापितले आफ्ना एजेण्डाभन्दा पनि जित्ने ‘ओभर कन्फिडे्न्स’ देखाउँदै पत्रकारहरूले सोधेको प्रश्नमा हलुका उत्तर दिएर माहोल थप रोमाञ्चकारी बनाए ।

त्यसपछि उनलाई बारम्बार मिडिया र आम नागरिकका तर्फबाट उनीमाथि लागेको आरोपबारे प्रश्नले खेदिरहेको छ । जसको उत्तर दिन नसकेर प्रश्नकर्तालाई नै तथानाम गाली गर्ने अवस्थामा पुगेका छन् मेयरका उम्मेदवार स्थापित ।

२०५४ सालमा ८४ हजार ६ सय भोट ल्याएर जितेको धाक लगाउँदै आफैँले चुनाव जित्ने कन्फिडेन्ससहित ‘गेम इज ओभर’ भन्दै पत्रकारहरूसँग पन्छिएका थिए उनी ।

त्यस्तै उनीमाथि लागेको महिलामाथिको यौन दुर्व्यवहारको आरोपलगायत विवादित कुराहरूको प्रश्नमा ‘विवादमा नआउने स्थापित नै हुँदैन’ भन्दै सतही उत्तर दिएर भागेका स्थापितलाई त्यसपछि मिडिया र सार्वजनिक कार्यक्रमहरूमा सोही प्रश्नले स्थापितलाई चारैतिर लखेटिरहेको छ ।

अब त प्रश्नको उत्तर दिन नसकेर स्थापित प्रश्नकर्ताहरूलाई नै तथानाम गाली गलौज गर्दै आक्रामक बन्न थालेका छन् ।

गत बिहीबार त्यस्तै भयो । काठमाडौंको नेसनल कलेजले काठमाडौं महानगरको मेयरका उम्मेदवारहरूसँग गरेको अन्तरक्रियामा भावना राउतले गरेको प्रश्नमा बसेको ठाउँबाट उठ्दै आक्रामक भए स्थापित । २०१८ मा ‘मी टू’मा उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपको विषयमा प्रश्न गर्दा आक्रामक बनेका स्थापितले ‘यू आर ब्युटिफुल गर्ल, तर तिम्रो थुतुनो गतिलो भएन’ भन्दै प्रश्नकर्तातर्फ खनिए ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार अझ सार्वजनिक पदमा पटक–पटक बसिसकेको मान्छेले जनताले गरेका प्रश्नमाथि नै अमर्यादित तवरबाट प्रस्तुत हुनु शोभनीय थिएन । हुन त स्थापितलाई टिकट दिने र काँधमा बोकेर हिँड्नेहरू आरोपको बचाउमा लागेका छन् । उनको बचाउमा कार्यकर्ता मात्रै लागेका होइन, पार्टी अध्यक्ष केपी शर्मा ओली नै मैदानमा उत्रिए ।

बिहीबार नै एक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले महिला हिंसा अन्त्यका लागि विश्वभर चलाइएको अभियान ‘मी टू’ नेपालमा चुनावका बेला मात्रै ल्याइने भन्दै स्थापतिको प्रशंसा गरे ।

२०५४ सालमा मेयर बनेका स्थापितले काठमाडौं महानगरकै कर्मचारी रश्मिला प्रजापतीसहित अर्की महर्जन थरकी पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप बारम्बार लागिरहेको छ । तर ओलीले नेकपा एमाले महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी भन्दै स्थापित सम्भावना बोकेको मान्छेलाई हराउने रणनीति बनाउन खोजिएको दाबी गरे ।

स्थापित बेला–बेला त्यस्तै उडन्ते र अस्थिर कुराले विवादमा आइरहन्छन् र आफू विवादमा आउने स्वभावले नै चर्चित बनेको ठाँट उनको कतिपय अभिव्यक्तिले दिन्छ । उनको अरुभन्दा फरक पक्ष के छ भने, आफूले गरेको जघन्य गल्तीलाई गर्वका साथ मैले गरेको हो भन्न हिच्किच्याउँदैनन् ।

२०५१ मा भएको उपनिर्वाचनमा काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी चुनावी मैदानमा थिए । तत्कालीन समयमा चर्चित मानिएका ‘किसुनजी’लाई विद्यादेवीले हराउनु चुनौती रहेको स्थापित स्वयं स्वीकार गर्छन् ।

सोही क्रममा विभिन्न हतकण्डा गरेर भए पनि किसुनजीलाई हराउनुपर्ने स्थिति आएपछि आफूले गरेको गलत हर्कत समेत खुलेआम गर्वका साथ भन्दै हिँडेका छन् ।

वर्तमान राष्ट्रपति भण्डारीलाई चुनाव जिताउनका लागि गरेको हर्कतबारे उनी आफैँ भन्छन्, ‘विद्याको फोटोमा गोबर हान्न लगाएर कांग्रेसले विदुवामाथि यस्तो गर्‍यो भन्न लगाउने व्यक्ति मै हुँ ।’

यसबाट के प्रस्ट हुन्छ भने अरुलाई निर्वाचन जिताउन त्यो हदसम्म गर्ने स्थापितले आफू उम्मेदवार बन्दा के गर्लान् ? आम नागरिकको तर्फबाट प्रश्न बारम्बार उठी नै रहन्छ ।

‘स्थापित’ उनको थरजस्तो राजनीतिमा निरन्तर स्थापित भने बन्न नसकेका अघिको धेरै उदाहरणले देखाउँछ । २०५४ सालमा माले एमाले फुट्दा मालेतिर लागेर वामदेव गौतमलाई साथ दिएका उनी २०७० सालको निर्वाचनमा पार्टी नै छाडेर संघीय समाजवादीतिर लागे ।

२०७० सालको संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट संघीय समाजवादीबाट सांसदको उम्मेदवार बनेका उनले १ हजार भोट कटाए । जसको कारण सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका योगेश भट्टराई पराजय हुनुमा धक्का लागेको कतिपयको भनाइ रहेको छ ।

त्यसपछि पुनः २०७४ मा एमालेको मूलधारमा आएका उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरकाे उम्मेदवार बन्ने कुरा बाहिर आयो । तर संघीय संरचनाअनुसार पहिलो पटक बन्न लागेको प्रदेशसभामा बागमतीबाट मुख्यमन्त्री बनाउने भनियो । चर्चा पार्टीभित्र र बाहिर चले पनि अन्ततः उनको अस्थिर पाराका कारण डोरमणि पौडेलले बाजी मारे ।

मुख्यमन्त्रीको रुपमा हेरिएको व्यक्ति विवादका कारण मन्त्रीबाट समेत हटनुपर्‍यो । मन्त्रिपरिषद् बैठकमै मुख्यमन्त्री पौडेललाई तथानाम गाली गरेपछि उनलाई हटाइएको थियो । आफू मन्त्री स्थापितसँग काम गर्न नसक्ने भन्दै तत्कालीन मुख्यमन्त्री पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो नै गर्न पुगेका थिए ।

उनकाे पार्टीभित्र माहोल बिग्रिरहेका बेला सन २०१८ मा विश्वव्यापी रुपमा चलेको ‘मी टू’ अभियानको असरले समेत उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हट्नुपरेको थियो । तर उनले भने त्यसलाई केही पनि मानेनन् । त्यस्ता अभिव्यक्तिहरू सार्वजनिक कार्यक्रम र मिडियामा दिई नै रहे ।

आफैँले गरेको हतकण्डाहरू आफैँ गर्वका साथ भन्न नहिच्किचाउने स्थापितमाथि राजनीतिक मोडका विमिन्न समयमा त्यही यौन दुर्व्यवहारको काण्ड आइरहन्छ । २०५४ मा स्थापित महानगरको मेयर भइसकेपछि महानगरमा अस्थायी कर्मचारीको रुपमा आएकी थिइन् रश्मिला प्रजापति । उनलाई स्थायी बनाइदिने भन्दै स्थापितले बारम्बार कहिले कहाँ कहिले कहाँ बोलाउने गरेको उनले भन्दै आरोप लगाउँदै आइरहेकी छिन् ।

उनले त्यसबेला प्रत्येक शनिबार स्थापितले आफूलाई विभिन्न प्रलोभन देखाएर दुर्व्यवहार गर्नेगरेको सार्वजनिक कार्यक्रमदेखि अन्तर्वार्तामा बताउँदै आएकी छिन् ।

जब सन् २०१८ मा विश्वभर ‘मी टू’ अभियन सुरु भयो । त्यसपछि भने उनको काण्ड थप सतहमै आउनेगरी बाहिरियो । यो स्थापितलाई मात्र लागेको आरोप होइन जसमा विश्वका ठूला मानिएका मानिसहरूलाई समेत ‘मी टू’ अभियानले पदच्युत गरेको थियो । त्यसो त नेपालमा पनि उनीसहित केही प्राध्यापकहरूलाई ‘मी टू अभियाना’ले विवादमा तानेको थियो ।

हुन त स्थापितमाथि आरोप मात्र लागेको हो कतै न्यायिक निकायमा उजुरी भने परेको छैन । उनी बारम्बार परीक्षण भएको र परीक्षणमा उत्तीर्ण हुन नसकेका उनलाई पार्टीले पुनः पत्याउला भन्नेमा धेरैको आशंका थियो । तर उनीमाथि थप यौन दुर्व्यवहारको आरोप समेत रहेका कारण पार्टीभित्रबाटै उनका प्रतिस्पर्धीहरूले त्यसैलाई आधार मानेर ब्याक गराउने रणनीतिमा लागेका थिए । तर महानगरको विकासलाई संस्थागत गर्न स्थापितबाहेक अरु उम्मेदवार नै नभएजस्तो उनलाई नै दिनु नै पार्टीले सोच्नुपर्ने कतिपयको भनाइ छ ।

टिकट पाइसकेपछि पहिलो गाँसमै ढुंगा लागेका स्थापितलाई बचाउन ओलीले गरेको तर्क पनि आलोचनाको विषय बन्यो । हरेक नेताको परीक्षणको घडी भनेको निर्वाचन हो । उम्मेदवार बनिसकेपछि दाबी–विरोध नपरेपछि पार्टीले योग्य ठानेका जो–कोही पनि छनौट हुन सक्छन् । त्यसमा दाबी–विरोध नपरे पनि विभिन्न आरोपहरूले भने उम्मेदवारलाई निरन्तर लखेटिरहन्छ । समाजमा कुनै पनि घटना र आरोपको विरुद्ध बोल्ने उम्मेदवार निष्कलंक होस् भन्ने हरेक मतदाताको इच्छा रहन्छ ।

जब निर्वाचन आउँछ तब हरेक उम्मेदवारको विभिन्न कोणबाट आलोचना हुने गर्दछ । सोही क्रममा आलोचनाको शिकारमा परेका स्थापित जुन कन्फिडेन्सका साथ निर्वाचनमा होमिएका छन् त्यसले उनलाई फेरि स्थापित गर्छ या गर्दैन भन्ने ३० वैशाखले देखाउला ।

उनले ०५४ मा प्रतिस्पर्धीलाई जुन स्वादका साथ हराएका थिए त्यही स्वादमा उनी निर्वाचन जित्ने दिवास्वप्नामा रमाइरहेका छन् । नहुँदो हो त आइतबार निर्वाचनको आचारसंहिता नै उल्लंघन गरेर गठबन्धनबाट र स्वतन्त्रमा उम्मेदवारी दिएकाहरूलाई हुनसम्मको गालीमा उत्रिने थिएनन् होला । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहलाई कुनै एजेण्डा नै नभएको भन्न भ्याए भने स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन साहलाई ‘अन्तर्राष्ट्रिय ठग’को संज्ञा दिए ।

त्यतिमात्रै नभएर उनले बालेनलाई काठमाडौं नभई तराईको रहेको र काठमाडौंको साह भन्दै काठमाडौंवासीलाई झुक्याएको आरोप लगाए ।

तर स्थापितले भनेजस्तो उनको मुख्य प्रतिस्पर्धी देखिएकी गठबन्धनकी सिंह पनि कमजोर उम्मेदवार होइनन् । ५ दलीय गठबन्धनको साझा उम्मेदवार बनेकी सिंहमाथि परिवारवादबाहेक अन्य कुनै दाग छैन । तर स्थापितमाथि व्यावहारिक र नैतिक सवालको प्रश्न उठिरहँदा यस पटकको निर्वाचन स्थापितको लागि फलामको चिउरा नबल्ला भन्न सकिन्नँ ।

मुख्य प्रतिस्पर्धीसँगै स्वतन्त्र उम्मेदवारी दिएका बालेनले समेत स्थापितलाई असर गर्ने देखिन्छ । भर्खरको युवा रहेका बालेन पेसाले आर्किटक्चरल इन्जिनियर हुन् । विगत केही महिनादेखि विभिन्न योजनासहित महानगरमा स्वतन्त्रबाट मेयर बन्ने ध्याउन्नमा लागेका उनले पार्टीगत उम्मेदवारलाई टक्कर दिने दाउमा छन् । जसको असर स्थापितसहित अन्य दलगत उम्मेवारमा समेत पर्ने हुनाले पनि उनले सोचेजस्तो सहज भने छैन ।

२०५४ मा मेयर बनेपछि उनले केही सुधारका प्रयासहरू गरेका थिए, जुन अहिले विवादको चंगुलमा फस्दा पनि स्थापितले बोल्ने माध्यम बनेको हो ।

तत्कालीन समयमा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा ल्याएका उनले अव्यवस्थित सहर व्यवस्थापन गर्न पहल गरेकोमा धेरैले उनको प्रशंसा गरेका छन् । हालको माइतीघर मण्डला बनाउनदेखि लिएर होस् या रत्नपार्कको व्यवस्थापन राम्रो गर्न सकेको जस उनीमाथि छ ।

अन्तमा महानगरको नेतृत्वका लागि उनै स्थापित वा गठबन्धनकी उम्मेदवार सिंह वा अन्य स्वतन्त्रबाट कसले पासा पल्टाउला हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?