मँहगो हुँदै एनआरएनको चुनाव, दुई धनाढ्य लड्दा पैसाको खोलो बग्यो

काठमाडौं, २८ असोज- कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवारको खर्च यसपालि निकै बढी हुने आकलन गरिएको छ। दुई धनाढ्य गैरआवासीय नेपाली जमुना गुरुङ र भवन भट्ट अध्यक्षका प्रतिस्पर्धी भएकाले यसपालि खर्च अकासिने भएको हो। चुनाव दुई उम्मेदवारको मात्र नभई तिनको समर्थनमा रहेका पूर्वअध्यक्षहरूको जुँगाको लडाइ ठानिएकाले पैसाको खोला बगिरहेको सहभागी बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।गुरुङ एनआरएनएका अध्यक्ष शेष घलेकी पत्नी हुन्। अस्ट्रेलियाका धनाढ्यको सूचीमा शेष १०१ औं स्थानमा र पत्नी जमुना त्यसपछिको नम्बरमा छिन्। जापानमा सफल नेपाली व्यवसायी भट्टको त्यहाँ २९० वटा स्तरीय रेस्टुरेन्टको चेन छ। उनको वार्षिक कारोबार ३० अर्ब रुपैयाँ बराबर छ। पत्नी चुनावी मैदानमा रहेकाले घलेका लागि चुनाव प्रतिष्ठाको विषय हुने नै भयो, भट्टको समर्थनमा उभिएका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेको पनि जुँगाको लडाइ भएको छ। ‘चुनाव जमुना विरुद्ध भवनभन्दा पनि महतो-लामिछाने विरुद्ध घलेजस्तो देखिँदै छ’, सम्मेलनका लागि बेलायतबाट आएका शरण केसी टिप्पणी गर्छन्।देशमा हुने अन्य चुनावजस्तै भोजभतेर, भोट किन्न आदिमा हुने उम्मेदवारको खर्च एनआरएनएको चुनावमा पनि हुन्छ नै, मतदाताको रजिस्ट्रेसन शुल्क र मतदातालाई टिकट काटेर विदेशबाट ल्याउनसम्म खर्च गर्नपर्ने अवस्था भएकाले एनआरएनए चुनाव उम्मेदवारका लागि खर्चिलो हुँदै गएको हो। रजिस्ट्रेसनका लागि उम्मेदवारको मुख ताक्ने मतदाता टन्नै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?