आयोगले सोध्यो केशव स्थापितसँग २४ घण्टे स्पष्टीकरण

लोकपथ
1k
Shares

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।

‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने ।

केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको उनले बताए ।

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।

‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने ।

पत्र बुझेको २४ घण्टाभित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनुपर्ने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?