पोखरा १७ मा गठबन्धनको घरदैलो : ‘यो पटक एमालेको गढ भत्किन्छ’

लोकपथ
546
Shares

पोखरा। गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् । नेपाली कांग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्यसहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् ।

‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामा हामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै उनीहरुको गढ भत्काउने निश्चित छ ।’

घरदैलोमा उम्मेदवारहरुसहित नेपाली कांग्रेसका नेता गुरु बराल पनि सहभागी छन् । बरालले यो पटक पोखरा १७ मा गठबन्धनले चुनाव जित्ने कुरामा कुनै शंका नरहेको प्रस्ट पारे । ‘त्यसो त यो पटक गठबन्धनकै बलले चुनाव जित्नेमा हामी ढुक्क छौँ । यद्यपि यसअगाडिका जनप्रतिनीधिसँग यहाँका मतदाता वाक्क भएका कारण पनि त्यसको प्रत्यक्ष लाभ हामीलाई मिल्नेछ ।’ कांग्रेस नेता बरालले भने–‘जनताको काम प्रति गैरजिम्मेवार रहने जनप्रतिनीधिलाई जिताएर वडाबासीलाई फाइदा पनि छैन ।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका पोखरा १७ का अध्यक्ष पोखरामा १७ मा यसअगाडि एमालेका तर्फबाट जित निकालेका जनप्रतिनीधिहरुले धेरै अनियमितता गरेको आरोप लगाए । ‘त्यसै त एमालेका जनप्रतिनीधिहरुको खराब कामले मतदाता आजित छन् । फेरि त्यस्तै नेतृत्व वडालाई सुम्पनेवालामा कुनै वडाबासी छैनन् ।’ आचार्यले भने–‘अर्कोतर्फ यो पटक गठबन्धनले पनि काम गर्छ ।’

सोमबार भ्याङलुङखोलाबाट सुरु भएको घरदैलो कार्यक्रम सिमलटुंडा हुँदै वाराही टोल पुल्चोक, भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी, शितल चौतारी, रत्यौली (आहालमार्ग) हुँदै पश्चिम दुर्गा मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै आजै छोरेपाटनकै दामोदार खोला हुँदै संगमपथ चोक, अमले मागै, शितलपथ, तितेपानी, कसेरीबस्ती हुँदै डेभिजफलसम्म पुग्ने कार्यक्रम रहेको घरदैलो कार्यक्रमका संयोजक प्रकाश सुवेदीले जानकारी दिए ।

पोखरामा १७ मा गठबन्धनको तर्फबाट अध्यक्षमा देवराज आचार्यसहित सदस्यहरुमा विक्रम भण्डारी, गोबिन्द बराल, रञ्जिता सुबेदी र शोभा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

घरदैलोकै क्रममा पार्टी प्रवेश

घरदैलोकै क्रममा सोमबार एमाले परित्याग गरि २ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेमा सकृय हुँदै आएका पोखरा १७ कै सन्तोष बस्याल र दीपेश लामिछाने पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका नेता गुरु बराल र गठबन्धनबाट पोखरा १७ मा उम्मेदवारी दिएका देवराज आचार्यले अबिर र खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए । २ जना युवाहरुलाई स्वागत गर्दै कांग्रेस नेता बरालले कांग्रेसप्रति जनस्तरमा देखिएको आकर्षण बडो गज्जबको भएको बताए । उनले कांग्रेस पार्टीले युवा नेतृत्वलाई अगाडि सारिरहेको परिप्रेक्ष्यमा प्रजातान्त्रिक विचार राख्ने सबै युवाहरुको साझा घर कांग्रेस नै भएको बताए ।

पार्टी प्रवेशपछि बस्याल र लामिछानेले यो चुनाव अवधीभर आफूहरु दत्तचित्त भएर गठबन्धनको प्रचारमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?