गोविन्द केसीले अनसन तोडेपछि यस्तो आयो कांग्रेसको प्रतिक्रिया

काठमाडौं– नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिको स्वागत गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै केपी ओली नेतृत्वको सरकारले चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै स्वागत गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद । डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’

देउवाले ९ बुँदे सहमतिको  कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् ।

यसअघि गोविन्द केसीको माग पूरा गर्नुपर्ने भन्दै कांग्रेसले सडक र सदनमार्फत सरकारविरुद्ध दबाब बढाएको थियो ।  ९ बुँदे सहमतिसँगै डा केसीले गएराती नै अनसन तोडिसकेका छन् ।

यसैबीच  नेकपाका  नेता सुवासचन्द्र नेम्वाङले डाक्टर केसीसँग भएको सहमतिलाई व्यवहारका कार्यन्वयन गरिने बताएका छन् ।

उनले डा केसीले अब फेरि पनि अनसन बस्नुपर्ने अवस्था नआउने पनि प्रतिबद्धता जनाए ।

केसीलाई सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले जुस ख्वाएर अनशन तोडाएका थिए ।
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए ।   
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?