रसुवा पहिरोमा मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, उद्धार कार्य जारी

रसुवा । अविरल वर्षासँगै बुधवार राति गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । उक्त पहिरोमा एक होटलसमेत पुरिएको थियो । होटलमा कति थिए भन्नेबारेमा केही थाहा हुन सकेको छैन ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताएअनुसार पहिरोमा परेका १२ जना घाइतेलाई उद्धार गरिएको र तीमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–१ का मिङुमर गोम्बो तामाङ, वडा २ का दोजे वाङ्जु र पत्नी सिमो घले, नुवाकोटका सुमो चालक रमेश तामाङ र शर्मिला कमिनीको शव निकालिएको थियो ।

त्यस्तै पहिरोमा परी भोटकोशी गाउँपालिका वडा – ५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ र भोटेकोशी गाउँपालिका–४ का सुस खड्काको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार राति पौने १ बजे आएको पहिरोले टिमुरेको प्रहरी चेक पोस्ट नजिकका चारवटा घर पुरेको थियो । पहिरोमा परेकाको उद्धार कार्य जारी रहेपनि पहिरोले कति क्षति पु–यायो । त्यसको विवरण अझै आइसकेको छैन ।

पहिरो गएपछि चीन जोडिएको व्यापारिक नाका रसुवागढी अवरुद्ध भएका छ भने सडक पन्छाउने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?