लगातार संसद अवरुद्ध गरे संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ : प्रमुख सचेतक गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेपाली कांग्रेसजस्तो लामो लोकतान्त्रिक अभ्यास गरेर आएको पार्टीले लगातार संसद अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताएका छन् । उनले भने,‘लगातार संसद अवरुद्ध गरेर संसदीय व्यवस्थामा असफल मुलुकको रुपमा परिभाषित गर्न दिनुहुँदैन्।’ 

गुरुङले भोलि बस्ने संसद बैठक सूचारु हुने वा नहुने कुरा प्रमुख प्रतिपक्षी दल कांग्रेसमै निर्भर रहने सुनाए । ‘संसद सञ्चालन गर्नुपर्छ’ गुरुङले थपे,‘प्रक्रियालाई अड्काएर राख्नुहुँदैन । बरु अन्तर्वस्तुमा विमति हुन सक्छ । यसको लागि त छलफलबाट सहमति खोज्नुपर्छ।’

अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने बताउँदै उनले भने,‘उहाँले उठाएका कतिपय विषयहरु राम्रा छन् । तर, उहाँले भनेजस्तो विद्येयकमा हुबहु लागु गर्न सकिँदैन । सहमति र सम्वादमार्फत निकास खोज्नुपर्छ । निषेधात्मक चिन्तन पाल्नुहुँदैन । सम्वादमार्फत सहमतिको विन्दु खोज्नुपर्छ। यसको लागि सरकारले गम्भिर पहल गरिरहेको छ ।’

डाक्टर केसीले उठाएका मागहरु विद्येयकले नै सम्बोधन गरिसकेकोले बाँकी विषयहरुपनि छलफलमार्फत टुँगोमा पुग्ने उनको विश्वास छ । उनले भने,‘अब सहमति टाढा छैन । हामी सहमतिमा पुग्छौं ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?