के पाउँदै छन् आज बिदा हुने सांसदले ?

काठमाडौं, २८ असोज- संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।०७२ असोज ३ मा संविधान जारी गरेपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठकले भाषा आयोग, प्रदेश प्रमुखको पारि श्रमिक तथा संविधानसम्बन्धी विधेयक पारित गरेको थियो । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा निर्वाचन विधेयकमा दलबीच सहमति जुट्न नसकेपछि दुईवटै विधेयक अलपत्र पर्ने भएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?