काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताएकी छिन् ।
आइतबार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताइन् । उनले महिलाहरुले बिहानदेखि बेलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताइन् । उनले आफु काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताइन् । त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन् । उनले भने– ‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन । त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ र मैले बोल्दै आइरहेको पनि छु । काठमाडौंमा कति दिदीबहिनीहरु बेरोजगार हुनुहुन्छ, दाजुभाईहरु बेरोजगार हुनुहुन्छ । उहाँहरुको राज्यले सुनुवाई भएको छैन । कति दाजुभाईहरु काम नपाएर, युवाहरु विदेशीनु परेको छ र महिला दिदीबहिनीहरु काम नपाएर घरमा बाध्य भएर बिहानदेखि बुलुकासम्म काम गरिराख्नु भएको छ । अफिसमा काम गर्नेलाई मात्रै काम भनेर हाम्रो राज्यले तोकेको छ । घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मुल्यांकन भएको छैन । त्यसकारण म मेयर भएपछि जुन दिदीबहिनीहरु घरमा बाध्य भएर काम गरिराख्नु परेको छ । र उहाँहरु बेरोजगार हुनुहुन्छ । जसको आय न्युन छ । जो महिला दिदीबहिनीहरु गरिबीको रेखा मुनि हुनुहुन्छ, उहाँहरुको लागि मैले विशेष राहत योजना मैले ल्याउने छु भनेर म भन्न चाहान्छु । म युवाहरुलाई, आइटीको जमाना छ । डिजिटल प्रविधि छ । त्यसकारण डिजिटल प्रविधि अपनाएर युवाहरुलाई सिप विकासतिर लगेर उहाँहरुलाई आत्मनिर्भर बनाएर उद्यमी बनाउने तर्फपनि लानेछु ।’
उनले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि बताइन् । त्यसैगरी महानगरले युवा क्लबहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आर्कषित गर्ने पनि उनले बताइन् । सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया