काठमाडौं । महिला अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईलाई उन्मुक्ति दिन सरकारले प्रपंच रचेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्र) ले आपत्ति जनाएको छ ।
सरकारसँग अलि कति पनि नैतिकता बाँकि छ भने प्रसाईमाथि ढिला नगरी कारवाही गरीनु पर्दछ । यसमा सरकार प्रमुख केपी ओलीको मूल जिम्मेवारी छ भन्दै राप्रपा (प्रजातान्त्रिक) सँग आवद्ध विद्यार्थीहरुले सरकारसँग कारवाहीको माग गरेको छ ।
“बंगलादेशमा अध्ययनरत छात्राहरु माथि दुर्गा प्रसाईंले लगाएको लाञ्छना अकल्पनीय र अस्वीकार्य छ । यो महिलामात्र नभएर सम्पूर्ण युवा विद्यार्थीको भविष्यमाथिको प्रहार हो । यस्तो नियति समाज माथिकै कलंक हो, त्यसकारण बिलम्बन गरीकन दुर्गा प्रसाईंलाई कारवाही हुनु पर्दछ,” राप्रविसं (प्र) का अध्यक्ष धनशुर शाहीले बताए ।
राप्रविसं (प्र) का अर्का विद्यार्थी नेता एन्टि संघर्ष राईले भने, “शेरबहादुर तामाङलाई मन्त्री पदबाट राजीनामा गर्न लगाएर समाजको ध्यान अन्यत्र मोड्ने प्रयास भएको आशंका उब्जिएको छ । त्यसो हो भने सरकार माफियाको चंगुलमा छ भन्ने प्रमाणित हुन्छ ।”
एउटै कसूरमा तामाङलाई कारवाही, प्रसाईंलाई उन्मुक्ति दिन मिल्दैन । सरकारले जग हसाउने काम गर्न हुँदैन, त्यसकारण ढिलो नगरी प्रसाई माथि आवश्यक कारवाही गर्नु पर्दछ, राईले भने ।
अधिनायकवादतर्फ उन्मुख नेकपा सरकारले असनसरत डा. केसीका मागलाई गम्भीरता पूर्वक नलिएको राप्रविसं (प्र) को आरोप छ ।
‘अधिनायकवाद चाहिदैन, डा. केसीलाई मार्न पाइदैन’ भन्दै राप्रविसं (प्र) ले यस अघि डा. केसीको समर्थनमा सामूहिक नागरिक सत्याग्रहमा सहभागिता जनाएको थियो ।
चिकित्सा क्षेत्र व्यापार होइन, यस्तो संवेदनशील सेवा मूलक क्षेत्र माफियाको नियन्त्रण र प्रभावबाट मुक्त हुनु पर्दछ भन्ने हाम्रो ठहर हो, अध्यक्ष शाहीले बताए ।
राप्रविसं (प्र) ले डा. केसीको जीवन रक्षाको लागि पनि गम्भीर र संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गरेको छ ।
डा. केसी कुनै पनि बेला अचेत हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बुधबार मात्र जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया