भोलिबाट सबै स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । संघले डा. गोविन्द के.सी. चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको आज २७ औं दिन हुँदा समेत वार्तालाई औपचारिकतामा मात्र सिमित गराईएको भदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बिहीबार विज्ञप्ति जारी गर्दै २०७५ साउन ११ गते देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा डा.केसीको अनसन नतोडिएसम्म बन्द गर्ने घोषणा गरेको हो । संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा डा.केसीको जीवन रक्षाका निम्ती बार्ताटोली जिम्मेवाररुपमा अगाडी नबढेको भन्दै स्तब्ध भएको उल्लेख छ । यसअघि संघले डा। के.सी.को जीवन रक्षाका लागि प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरुसँग भेटघाट, देशभर १ घण्टाको कालोपट्टी बाँधी धर्ना कार्यक्रम तथा बसन्तपुर, त्रि.वि. शिक्षण अस्पताल र संघका शाखाहरुमा रिले अनसनका कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको छ ।

डा. केसीको जीवन अत्यन्त कठिन मोडमा पुगिसकेको भन्दै  कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई गम्भिर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ नेपाल सरकार तथा डा. केसी पक्षधर वार्ताटोलीलाई गम्भिर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधकासाथ अगाडी बढ्न आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?