काठमाडौं । अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको फिल्म ‘बाबु कान्छा’ फ्लप भयो । सलोन बस्नेतका फिल्म त्यति हिट त छैनन् तर उनले एउटा क्रेज बनाउन सक्छन् भन्ने धेरैलाई लागेको थियो ।
बालकलाकार हुँदै नायक बनेका सलोनको फिल्म ‘बाबु कान्छा’ फ्लप भएपछि कतिपयले अड्कल काटे, अब सलोनको करिअर घाटामा गयो ।
बुधवार काठमाडौं सलोनले समेत अभिनय गरेको फिल्म ‘सुश्री सम्पत्ति’ को गीत रिलिज कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा सलोनलाई पत्रकारले सोधे – ‘बाबु कान्छा’ चल्छ भन्नुभएको थियो तर फिल्म त चलेन नि, यसले तपाईको करिअरलाई तल–माथि के पार्ला?
‘फिल्म भन्ने त्यस्तै हो, माथि तल भन्ने भइरहन्छ, मेरो कुनै फिल्म चलेन भने म माथि छु भन्ने पनि सोच्दिन र कुनै फिल्म चलेन भने तल गएँ भन्ने पनि सोच्दिन’, सलोनले थपे, ‘म यो क्षेत्रमा कलाकारकै रुपमा पछिसम्म काम गरिरहन्छु भन्ने लाग्छ, भोलि गएर बाबुको भूमिकामा पनि यही क्षेत्रमा काम गर्छु भन्ने सोच छ ।’
साथै उनले आउँदो फिल्म सुश्री सम्पत्ति चाहिँ राम्रो हुनेमा आफू विश्वस्त रहेको बताए । सलोनको समर्थन गर्दै उनका बाबु सोभित बस्नेतले भने, ‘सलोनलाई दर्शकले कमेडी फिल्ममा रुचाउनुहुने रहेछ, मैले जान्ने भएर सिरियस फिल्ममा लिएँ, फिल्म चलेन ।’, उनले स्वीकारे ।
कार्यक्रममा सुश्री सम्पत्तिको गीत पनि सार्वजनिक गरिएको थियो । उक्त फिल्ममा सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेको मुख्य भूमिका रहनेछ भने फिल्मलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया