काठमाडौं । डा. गोविन्द केसी पक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार मध्यराति वार्ता भएको छ ।
बुधबार साँझ असफल भएपछि पुनः मध्यरातमा दुवैपक्षबीच वार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैंले डा. केसी पक्षधरसँग बिहीबार बिहान २ बजेसम्म छलफल गरेको स्रोत बताइएको छ । करिब ३ घन्टा बसेको वार्तामा प्रधानमन्त्री ओलीले केसीको जीवनरक्षा पहिलो प्राथमिकतामा हुने भन्दै उनका मागलाई सकारात्मक रुपमा लिएको जानकारी दिइएको छ ।
प्रधानमन्त्री ओलीसँग अनशनरत डा. केसीका तर्फबाट डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द्र भण्डारी राति ११ः३० बजे बालुवाटार पुगेको बताइएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले वार्ता गर्ने वातावरण मिलाएकी थिइन् । त्रिवि शिक्षण अस्पतालकी डा. शाह गोविन्द केसीको समर्थक पनि हुन् ।
मध्यरातमा भएको वार्तामा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा बुँदागत छलफल भएको जानकारी दिइएको छ । विधेयक संसदको प्रक्रियामा गइसकेकाले फिर्ता नलिने तर, त्यसमा डा. केसीले उठाएका विषय समेटेर संशोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको स्रोतले बताएको छ ।
डा. केसीले उठाएका मुद्दाहरुमा प्रधानमन्त्री ओली सैद्धान्तिक रुपमा सहमत समेत भएको विधेयकको अन्तरवस्तुमा सहमति जुटे प्रधानमन्त्रीका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ सम्भवतः आजै डा. केसीलाई भेट्ने छन् र लिखित सहमति गरेर २६ दिन लामो अनशन तोडिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया