शिक्षण अस्पतालमा सरकारविरुद्ध चर्को नाराबाजी, डा. केसीका १५ समर्थक पक्राउ

काठमाडौं । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् ।

सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

केसीका समर्थक नाराबाजीसहित महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका थिए । तर, प्रहरीले उनीहरुलाई अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । 

 उनीहरुले ‘टुक्के सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद, 'केसी सरको अनशन माफियालाई टेनशन, जनता मार्ने अधिकार कसले दियो ए सरकार’ लगायतका  आक्रामक नारा लगाएका थिए । 

डा. केसीका माग पुरा गराउने उदेश्यले केसी समर्थक बिहीबार विहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए । तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभनपछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।

अहिले पनि गोविन्द केसीका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सो क्षेत्रमा उल्लेख्य सङख्यामा प्रहरी तैनाथ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?