यस्ता छन् काठमाडौं महानगरमा राप्रपाबाट मेयरका उम्मेदवार मदनदासको प्रतिबद्धता

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वरिष्ठ कलाकार समेत रहेका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताए । शुक्रबार चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले विगतका जनप्रतिनिधिहरुले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको आरोप लगाउँदै ती समस्या समाधान आफू समक्ष हुने दाबी समेत गरे । मेयरका उम्मेदवार श्रेष्ठले घोषणा गर्नु भएको प्रतिबद्धता पत्रमा ६ महिना भित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । उनले भने, ‘काठमाडौंमा मूलभूत रुपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आम नागरिकहरुलाई विशेष अनुरोध गर्न चाहन्छु–तपाईहरुको अमूल्य मतले मलाई विजयी गराउनु भयो भने तपाईहरुको मनोभावना र चाहना अनुरुप मैले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु गर्दछु ।’

मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको बताए । त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिबद्धता पत्रका समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?