करको नाममा अवैध असुली, गाउँपालिका बेखर

परासी–प्रतापपुर गाउँपालिकामा निकासी करको नाममा अवैध असुली भैरहेको पाइएको छ । गाउँपालिकाले गाउँपालिकामा लगाएको निकासी पैठारी करको म्याद आर्थिक वर्ष २०७४÷०७५ को असारमसन्तमै सकि सकिएपनि अझै ठेकेदारले सोझासाझा व्यवसायहीहरुलाई भुक्याउदै अवैधानिक रुपमा कर असुली गर्दै आएको छ ।

आज विहान रामग्राम नगरपालिका ३ निवासी मुख्तार खानले सुर्यपुरा क्षेत्रबाट टेक्टरमा भस्कट लोड गरि परासी फर्किदा सुर्यपुरामा ठेकेदार महेन्द्र भरले नगदी रसिद थमाउदै निकासी करको नाममा ३ सय रुपिया रकम असुल गरे । खानले निकासी कर सम्झिदै ३ सय रुपिया दिएर परासी फर्किदा भुजहवा प्रहरी चौकीले यतिबेला कुनै पनि खोलानामा ठेक्का नलाग्दै कसरी टेक्टरलाई गाउँपालिकाले रोयाल्टी दियो भनि थप अनुसन्धानका लागि भस्कट लोडेड टेक्टर जिल्ला प्रहरी कार्यालय पठाएपछि यो खुलासा भएको हो ।

कर असुल्ने म्याद असारमसान्त मै सकिएपनि ठेकेदार महेन्द्र भरले गुपचुप रुपमा गाउँपालिका र व्यवसायीहरुलाई छल्दै करको नाममा अवैध रकम असुली गरेको भेटिएपछि गाउँपालिका अध्यक्ष राजकुमार शर्माले यस विषयमा अनुसन्धान भैरहेको बताए ।

यसरी ९ दिन देखि अवैधानिक रुपमा कर असुल्ने ठेकेदारलाई गाउँपालिका र सम्बन्धित निकायबाट कुनै प्रकारको कार्वाही भएको छैन । ठेकेदारलाई कार्वाहीको विषयमा गाउँपालिका मौन बसेको पाइएको छ ।

त्यस्तै सुस्ता गाउँपालिकामा पनि साउन ४ गतेसम्म ठेकेदार हरेन्द्र यादवले करको नाममा मनोमानी अवैध रकम असुल गर्दै आएको खुलासा भएपछि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उक्त कार्यमा रोक लगाएको बताए ।  

यता प्रहरीले उक्त लोडेड टयाक्टरलाई नियन्त्रणमा त लियो तर हाल रामग्राम नगरपालिकाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन खरि माटो एवं भस्कट झिक्ने कार्य भैरहेपनि यता तर्फ प्रहरीको ध्यान पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?