काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले अहिले भएका आन्दोलन बहुमत प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका ‘ग्राइनडिजाइन’ भएको दाबी गरेका छन् ।
उनले भने, ‘हामी सयौं तथ्य प्रमाणसहित भन्न सक्छौं, यो बहुमत प्राप्त वर्तमान सरकार विरुद्धको राजनीतिक ‘ग्राइनडिजाइन’ हो,’ राजनीतिक ग्राइनडिजाइन हो भन्ने थाहा पाएपछि जसका विरुद्ध यो डिजाइन रचिएको छ उसले त्यसको प्रतिवाद गर्दैन त ?’
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले अहिलेको सरकार विल्कुल नयाँ अभ्यासको सरकार बनेको भन्दै उनले विगतका बहुमत प्राप्त सरकारले गरेका कमिकमजोरीलाई सच्याएर आफूहरु अघि बढ्ने दाबी गरे ।
‘नेपालमा बहुमत प्राप्त गर्ने सरकार यो पहिलो होइन । नेपाली कांग्रेसले दुई पटक ०४८ र ०५६ मा बहुमत प्राप्त गरेपनि देशलाई समृद्ध बनाउने योजना कार्यान्वयन गर्न सकेन,’ भट्टराईले भने, ‘बहुमत नभएका अनेक गठबन्धनका सरकार पनि हामीले हे¥यौं । यो अर्थमा वर्तमान सरकार विल्कुल नौलो छ । हामी नयाँ अभ्यासमा छौं । जनताको जनमत पूरा गछौं ।’
नेकपाको स्थायी कमिटी सदस्य भट्टराईले डाक्टर गोविन्द केसीको अनशनरतप्रति लक्षित गर्दै कांग्रेसलाई आफ्नो नीति विचार र कार्यक्रममा हिँड्न आग्रह गरे ।
मेडिकल शिक्षा सरकारको दायित्वभित्र रहेको भन्दै उनले १० वर्षभित्र सबै मेडिकल शिक्षालाई राज्यको नियन्त्रणमा ल्याउने योजना सरकारले बनाइरहेको पनि प्रष्ट पारे ।
उनले तत्काल मेडिकल शिक्षालाई राष्ट्रियकरण गर्ने कुरा असम्भव भएको भन्दै अबको केही वर्षमा सरकारले मेडिकल शिक्षालाई आफ्नो नियन्त्रणमा लिने दाबी समेत गरे। यद्यपी निजी क्षेत्रलाई पूर्ण बेवस्था नगर्ने पनि उनले बताए ।
कांग्रेसले भन्ने गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको कुरा ‘लुकिङ लण्डन, टकिङ टोकियो’ जस्तै भएको बताउँदै नेता भट्टराईले यदी चिकित्सा शिक्षाको सुधारको विषय हो भने खुल्ला मन लिएर वार्तामा आउन आग्रह गरे । तर, कुरा एउटा व्यवहार अर्कै हुँदा ‘लुकिङ लण्डन, टकिङ टोकियो’ हुने भएकाले सच्चिएर आउन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गर्नुभयो । डाक्टर केसीको माग चिकित्सा शिक्षाको सुधार नभइ राजनीतिक सत्ता समीकरणका लागि कांग्रेसले अघि बढाएको मुद्दा भएको बताए ।
उनले माइतीघर मण्डलामा केही बुद्धिजिबीहरु भेला भएर प्रधानमन्त्रीलाई गाली गर्दैमा समस्या समाधान नहुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया