गण्डकीमा गठबन्धनको गाँठो : नेताहरू मिल भन्छन्, कार्यकर्ता मान्दैनन्

लोकपथ
221
Shares

पोखरा । नेपाली कांग्रेस गोरखाले गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय प्रदेश र केन्द्रीय समितिलाई बिहीबार बिहानै पठायो । कास्कीमा गठबन्धन नस्वीकार्नेहरूले प्रदेश पार्टी कार्यालयमै तोडफोड गरे । तनहुँ कांग्रेसले पनि गठबन्धन गर्न नसक्ने निष्कर्ष माथिल्लो निकायमा पठाएको छ ।

गठबन्धनभित्रको दोस्रो ठूलो दल माओवादी केन्द्र, तेस्राे दल एकीकृत समाजवादी र चौथो दल जनता समाजवादी अहिले मौन छन् । उनीहरु मिल्ने पक्षमै देखिएका छन् । कांग्रेसको आरोप छ, ‘जनमत नभएका पार्टीले अस्वभाविक माग राखेको ।’ अरु दलहरु भने कांग्रेसले दम्भ देखाएको आरोप लगाउँछन् । सुरुदेखि हालसम्म पनि यही आरोप प्रत्यारोप कायम छ ।

यद्यपि गठबन्धन दलहरूको बैठक टुटेको छैन । बसिरहेको छ । सबै जिल्लाको प्रगति प्रतिवेदन मागेर बिहीबार रातिदेखि प्रदेशस्तरको गठबन्धन बैठक बसिरहेको छ । उनीहरूले जिल्लाको परिस्थितिका आधारमा प्रतिवेदन बनाएर आफ्नो केन्द्रीय पार्टीमा फरवार्ड गर्छन् । जिल्लादेखि प्रदेशसम्म पनि बैठक बसिरहेको छ ।

‘हामीले जिल्लाको रिपोर्ट कलेक्ट गरिरहेका छौँ । सम्भवतः केहीबेरमै वस्तुस्थितिबारे केन्द्रीय समितिमा पठाउछौँ,’ कांग्रेसका महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘हामीले यहाँबाट मिलाउने कुनै अधिकार छैन । बीचमा समन्वयको काम मात्रै हो ।’

साढे ११ पुनः बैठक बस्ने गरी प्रदेशको बैठक स्थगीत भएको छ । ‘अहिले मिल्नेजति यहीँबाट मिलाउने र नमिलेका विषय केन्द्रमा पठाउने भनेका छौँ,’ माओवादी अध्यक्ष गायत्री गुरुङले भनिन्, ‘गठबन्धन हुन्छ भन्नेमा हामी विस्वस्त छौं । गठबन्धन असल रुपमा गयो भने मात्रै रिजल्ट निस्किन्छ ।’

जसपाका प्रदेश उपाध्यक्ष किरण थापाले आफुहरु गठबन्धनमा नहरने निर्णय भएको बताए । ‘एकल प्रतिस्पर्धा गर्ने निर्णय नै भयो । स्थानीय कमिटीले गरेको सहमति कार्यान्वयन हुन्छ ।

अन्त हामी जोड गर्दैनौँ,’ उनले भने, ‘मैले गठबन्धनको बैठकमा त्यही जानकारी दिएर निस्केको हो ।’ प्रदेश नेताहरुका अनुसार अव गण्डकीमा तल्लो तहबाट गठबन्धन नहुने नै निधो भएको छ । तर केन्द्रले भने गठबन्धन नतोड्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?