यसकारण स्थगित भयो डा.केसी र सरकारको वार्ता

काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ । 

बुधबार सिंहदरबारमा चिकित्सा शिक्षा विधेयक संशोधनको विषयमा छलफल गर्न सरकारी वार्ता टोलीले फेरि आलटाल गरेपछि वार्ता केही बेरका लागि स्थगित भएको हो । 

डा. केसी पक्षले विधेयक संशोधनको बुँदा उठाउनासाथ सरकारी टोलीले थप परामर्श गर्नुपर्छ भन्दै वार्ता स्थगित गरि बाहिर निस्केको केसी पक्षका संयोजक डा. अभिषेकराज सिंहले जानकारी दिए । तर, उनीहरुले को सँग परामर्श गर्ने भन्ने विषय भने खुलाएनन् ।

‘अरु विषयमा कुरा गर्छन्, विधेयकको कुरा उठेपछि परामर्श गर्नुपर्छ भन्दै पन्छाउन खोज्छन्,’ डा. सिंहले भने ।

डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र केसी पक्षबीच मंगलबार साँझबाट वार्ता शुरु भएको हो । तर, विधेयककै विषयमा अड्किरहेको छ । 

डा.केसी अनसनको २६औं दिन हो । 

वार्तामा सरकार तर्फबाट शिक्षासचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् भने केसीका तर्फबाट डा. जीवन क्षत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?