काठमाडौं । आउँदो शुक्रवारबाट नेपालभर रिलिज हुन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ मा नयाँ प्रयोग गरिएको छ । फिल्मको ट्रेलरमै देख्न सकिन्छ, एक राक्षसले सृष्टि श्रेष्ठलाई हैरानी दिएको हुन्छ ।
सामान्य कथामा बढी मेहनत गरेर बनाइएको यो फिल्मको ट्रेलरमा एक राक्षसलाई देखाइएको छ । पहिले राक्षस कोठामा सिमित हुन्छ । पछि बिस्तारै बाटोमा पनि हिँड्न थाल्छ ।
सुन्दा सामान्य लागेपनि यो राक्षसको परिकल्पना गर्न त्यति सहज थिएन । स्किृप्टमा त सजिलै लेखिएको थियो तर त्यही पात्रलाई फिल्ममा उतार्न उत्तिकै गाह्रो थियो ।
फिल्मका निर्देशक नरेश कुमार केसी भन्छन्, ‘राक्षसको यही पात्र तयार पार्नका लागि मात्र झण्डै डेढ वर्ष लाग्यो, एनिमेसन गरेर बनाउनुपर्ने भएपछि जोखिम पनि उत्तिकै थियो, तर हामी सफल भयौं ।’
राक्षसकै उपस्थितिका कारण फिल्मको निर्माण समय पनि निकै लम्बिएको थियो । स्किृप्ट र छायांकनलाई पनि जोड्ने हो भने फिल्म तयार हुन झण्डै तीन वर्ष लागेको निर्देशक केसी बताउँछन् ।

‘ट्रेलरमा राक्षस देख्दा धेरैलाई सामान्य लागेको छ, तर यो पात्र यत्तिकै आएको हैन, यसको आफ्नै भूमिका छ, दर्शकले फिल्म हेरिसकेपछि यसको अर्थ सजिलै बुझ्न सक्नुहुन्छ’, केसी थप्छन्, ‘फिल्मले पात्रको इद, इगो र सुपर इगोलाई चित्रित गरेको छ, पात्रको समस्या जति जटिल बन्दै जान्छ, त्यति राक्षसको भूमिका पनि फरक बन्दै जान्छ ।’
निर्देशक केसी फिल्मको पूरै कथा खुलाउन चाहन्नन् । ‘फिल्मको स्किृप्ट पूरा गर्न मलाई एक वर्षभन्दा बढी लाग्यो, फिल्मको फाइनल ड्राफ्ट बनिसक्दा पनि कति कुरामा मलाई चित्त बुझेको थिएन’, केसी अगाडि थप्छन्, ‘छायांकन थालिसक्दा फिल्मको कथा आफैलाई चित्त बुझ्ने बन्यो ।’
यो फिल्मको कथा लेख्न वर्षौं लागेपनि अघिल्लो फिल्म ‘निभ्न लागेको दियो’ को स्किृप्ट तयार पारिसक्न भने जम्मा तीन दिन लागेको थियो केसीलाई ।
उनका अनुसार एकै बसाइमा लेखेर सकेका थिए त्यो फिल्म ।
‘फिल्म ‘निभ्न लागेको दियो’को कथा सरल थियो, पात्र कम थिए कथा त्यसैअनुसार बगेको थियो, तर यो फिल्म (रोमियो एण्ड मुना) को कथाको हिसाबले पनि फरक क्यानभासको छ, समय लाग्नु स्वभाविकै हो ।, केसी सुनाउँछन् ।
पहिलो फिल्म निर्देशन गरेर चर्चामा आएका केसीले यो फिल्मको प्रस्तुतीकरणमा पनि उत्तिकै ध्यान दिएको बताउँछन् । ‘कथाअनुसार फिल्मलाई न्याय दिलाउने गरी ट्रिट गर्न खोजेका छौं, फिल्मका हरेक पात्रको आफ्नै भूमिका छ, सबैलाई सशक्त ढंगले प्रस्तुत गराउन खोजेका छौं’, उनी थप्छन्, ‘फिल्ममा राक्षसको पात्र पनि यत्तिकै आएको होइन, यसको पनि आफ्नै कारण छ, नत्र किन डेढ वर्ष लगाएर एउटा क्यारेक्टर बनाउनुपर्थ्यो, हैन र?’
उनलाई कतिले राक्षसको भूमिका विना कारण राखेको भनेर पनि प्रतिक्रिया दिने गरेका छन् । तर, केसी भने राक्षसको पात्रलाई राख्दा फिल्म अझै शक्तिशाली भएको बताउँछन् । ‘पात्र जरुरी थियो, फिल्म हेरेपछि सबैले थाहा पाउनुहुनेछ ।’, उनी थप्छन् ।
यो पक्का हो – फिल्मले जुन हाइप पाउनुपर्ने हो, त्यति हाइप पाइरहेको छैन । त्यसो त केही वर्ष भयो, एकाध फिल्मले बाहेक अरु नेपाली फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन् ।
यसको कारण देशको स्थिति र राजनीति समेत भएको केसी स्वीकार्छन् । ‘नेपाली फिल्म नचल्नुको कारण देशको राजनैतिक र समसामयिक कारणले पनि असर पार्छ, तर हाम्रा आफ्नै पनि कमजोरी छन्’, निर्देशक केसी सुनाउँछन्, ‘हामीले बनाउने नेपाली फिल्ममा कमजोरी थिएन भने विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने हुँदैनथ्यो होला ।’
म्युजिकल लभस्टोरी भनिएको फिल्म ‘रोमियो एण्ड मुना’ का बारे बताउँदै केसी भन्छन्, ‘यत्ति चाहिँ हो, फिल्म हेर्दा दर्शकलाई दिक्क लाग्दैन, हामीले आर्ट र कर्मसियल दुवै तरिकाले स्तरीय बनाउने प्रयास गरेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया