बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन बागमती कांग्रेसको अपिल

लोकपथ
21
Shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारहरुलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्यत शक्तिविरुद्ध गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह पनि गरेका छन्। विनम्रतापूर्वक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र फिर्ता नलिए कारबाही गर्ने बानियाँले जनाएका छन् ।

मकवानपुरका विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय प्रदेश तहबाट भएर भागबण्डा टुंगिए पनि वडास्तरमा भने दलहरूले आ–आफ्नो उम्मेदवार उठाएका छन् ।

मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि कैलाश, मनहरी, राक्सिराङ, ईन्द्रसरोबर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेल विपरित उम्मेदवारी दर्ता भएको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ । तर, वडास्तरमा भने तालमेल हुन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका–२ मा नेपाली कांग्रेसका नेता सुदीप राजबाहकले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा २ नम्बर वडामा कांग्रेसबाट जित्ने राजबाहक एक्ला जनप्रतिनिधि हुन् ।

यसपटक अध्यक्षको लागि दाबी गरे पनि पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । ‘म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्न,’ राजबाहकले भने, ‘मेरो पक्षमा युवाहरू छन् । तर, पार्टीले मेरो कुरा सुनेन । म जितेर देखाइदिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?