काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
कांग्रेसले डा. केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डा. गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताए ।
राष्ट्रियसभा सदस्य पाण्डेको भनाइसँगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।
कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे ।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराएका थिए । बुधबारको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो ।
राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया