अर्जुन शर्मा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका सबै पालिकामा कुल २ हजार २ सय १८ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाभर अध्यक्षका लागि १ सय र उपाध्यक्षका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै १ सय ३ वडा रहेको यस जिल्लामा ४ सय ९५ जनाले वडाध्यक्षको लागि मनोनयन दर्ता गराएका छन् ।
जिल्लामा केन्द्रको नीतिअनुसार १२ पालिकामध्ये २ पालिकामा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकामा माओवादीका दोर्जे लामाले अध्यक्षमा उम्मेदवार दिए भने कांग्रेसका गंगा चाँपागाईले उपाध्यक्षमा उम्मेदवार दिएका छन् ।
त्यस्तै, जुगल गाउँपालिमा पनि केन्द्रको नीतिअनुसार भएको गठबन्धबाट अध्यक्षता माओवादी केन्द्रका रेशम स्याङ्बोले अध्यक्षमा र कांग्रेसका हिमाल श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
चौतारा सांगाचोकढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र बलेफी गाउँपालिकामा माओवादी र समाजवादीले तालमेल गरेका छन् । अरु स्थानीय तहमा भने नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो एकल उम्मेदवार उठाएको छ ।
विवादका शृङ्खला
चौताराको निर्वाचन अधिकृतको कार्यालयमा माओवादी कार्यकर्ताबीच टिकटको विषयमा विवाद हुँदा झडपको अवस्था बन्यो । आक्रोशित कार्यकर्ताले नगरपालिकाको भवनमा ढुंगामुढा गर्नुका साथै झ्यालका सिसा फुटाएका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड अश्रुग्यास प्रहार समेत गरेको थियो । दिउँसो ३ बजेबाट अवरुद्ध मनोनय दर्ता प्रक्रिया साझ करिब ६ बजेबाट सुरु भयो । रातको २ बजे मात्र मनोनयन प्रक्रिया सकिएको थियो ।
यस्तै, त्रिपुरासुन्दरीका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी परित्याग गरेको आक्रोशमा पिस्करमा मनोनयन दर्ता गर्न जाने क्रममा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो । एमालेका आक्रोशित समूहले श्रेष्ठसहितको समूहलाई हातपात गर्न थालेपछि प्रहरीको सुरक्षामा उनलाई पार्टी कार्यालय हुँदै बाह्रबीसे पु¥याएको थियो ।
यसैगरी सुनकोशी गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार मन्जु नेपालले आफ्नै पार्टीका कार्यकर्तामाथि हातपात गरेकी थिइन् । केन्द्रको पहुँचबाट नेपालले उपाध्यक्षको टिकट ल्याइन् तर पालिकामा माओवादीसँग तालमेल गर्ने र उपाध्यक्ष माओवादीलाई दिने सहमति हुँदै गर्दा बैठक बसेकै होटलमा पुगेर उनीसहितको टोलीले तोडफोड गरेको थियो ।
बागी उम्मेदवार
पार्टीले टिकट नदिएपछि चौतारा सांगाचोकगढी नगरपालिकामा निवर्तमान मेयर अमानसिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादीमा सापकोटा परिवारवाद हाबी भएको तामाङको आरोप छ ।
हेलम्बुमा पनि कांग्रेसबाट विद्रोह गर्दै जिमी लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । हेलम्बुमा पुरानै पालिकाअध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कांग्रेसले उम्मेदवार बनाइएपछि लामाले विद्रोह गरेका थिए ।
त्यस्तै, भोटेकोशी गाउँपालिकामा माओवादी केन्द्रबाट वडा नं. २ का वडाध्यक्ष निर्वाचित भएका दिपेन्द्र कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो पालिकामा माओवादी केन्द्रले २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष राजकुमार पौडेललाई टिकट दिएको थिए ।
पार्टी परित्याग
आकांक्षी व्यवस्थापन गर्न जिल्लाका मुख्य राजनीतिक शक्तिलाई माहाभारत परेको थियो ।
पार्टीले टिकट नदिएपछि उम्मेदवार टुंगिएपछि त्रिपुरासुन्दरी गाउँपालिकाका निवर्तमान अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेका थिए । उनले पुनः आफू पालिका अध्यक्ष बन्ने दौडमा रहेका थिए । यस्तै, जुगल गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनी पराजित भएका जयबहादुर लामा एमालेमा प्रवेश गरेर पालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।
भोटेकोशीमा पुरानै अध्यक्ष राजकुमार पौडेललाई टिकट दिएपछि अपाध्यक्ष दाबुटि शेर्पा, पालिका इन्चार्ज आङछिरिङ शेर्पासहित ७३ जनाले पार्टी छोडेको घोषणा गरेका छन् । यस्तै आफूले वा आफ्नो सिफारिसको व्यक्तिले टिकट नपाएपछि चौतारा सांगाचोकगढी नगरपालिका १४ का अध्यक्ष शेरबहादुर श्रेष्ठ, ७ का अध्यक्ष उमा प्रसाद दुलालले पार्टी छाडेको घोषण गरेका छन् ।
महिला नेतृ ओझेलमा
सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रबाट कृष्ण कुमारी कुँवरले अध्यक्षमा मनोनयन दर्ता गरेकी छिन् । राजनीतिक दलबाट टिकट लिएर प्रमुख पदमा उम्मेदवारी दिने उनी एकमात्र हुन् ।
सिन्धुपाल्चोक जिल्लामा बहालवाला उपाध्यक्ष रहेका लिसंखुपाखर गाउँपालिकाकी हेमगङ्गा मोक्तान, त्रिपुरासुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सिर्जना तामाङ, बलेफी गाउँपालिकाकी कमला कायस्थ, चौतारा सांगाचोकगढीकी जानुका पराजुली, भोटेकोशी गाउँपालिकाकी दाबुटि शेर्पाले प्रमुख पदको लागि पार्टीमा दाबी प्रस्तुत गरेका थिए ।
यीबाहेक पाँचपोखरी थाङपाल गाउँपालिकामा पूर्वसांसद डोल्मा तामाङ, चौतारा साँगाचोकगढी नगरमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटासहित मेलम्ची नगरमा दुई जना महिलाहरू मेयर पदको आकांक्षी थिए ।
हाइ प्रोफाइल नेता स्थानीय तहमा
सिन्धुपाल्चोक जिल्लाको हाइप्रोफाइल बनाएका नेताहरू स्थानीय तहको नेतृत्वका लागि दौडिएका छन् । काभ्रे, सिन्धुपाल्चोक, दोलखाका इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन् ।
ईन्द्रावती गाउँपालिकामा विकास लामाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । उन नेपाली कांग्रेस पूर्वजिल्ला सभापतिसँगै कांग्रेसको केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवार समेत बनेका थिए ।
उनको प्रतिपक्षको लागि नेकपा एमालले पूर्वजिल्ला अध्यक्ष झम्क नेपाललाई अगाडि सारेको छ । स्थानीय तहमा माथिल्लो कमिटीका लिडरले आँखा लगाएपछि नयाँ पुस्ताले केको लागि राजनीति गर्ने भन्दै विद्रोह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया