प्रदेश ५ मा संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

बुटवल : प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । 

प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । बाँकी तीनवटा समितिका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ । 

तीनवटा समितिमध्ये सार्वजनिक लेखा समितिमा प्रतिपक्षी दलका डिल्लीबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सत्तापक्षबाट अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार निर्विरोध भएका छन्। 

प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समितिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज मनोनयन हुने तीनवटै समितिमा पनि कसलाई सभापति बनाउने भन्ने टुंगो सत्तापक्षले लगाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए। 

उनका अनुसार प्रदेश मामिला तथा कानून समितिमा सत्तापक्षीय दामाकुमारी शर्मा र सामाजिक विकास समितिको सभापतिमा दीर्घनारायण पाण्डेले मनोनयन दर्ता गराउने छन् भने संघीय समाजवादी फोरमका तर्फबाट कृषि, वन तथा वातावरण समितिमा विजयबहादुर यादवले मनोनयन पत्र दर्ता गराउने सहमति भएको छ । 

प्रदेश नं ५ मा नेकपाका ६१ प्रदेशसभा सदस्य रहेका छन् भने विपक्षी नेपाली काँग्रेसका १९ र फोरमका पाँच, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक/एक जना सदस्य रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?