बुटवल – रूपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । न त प्लटिङका नाममा जग्गा खाली छाड्ने छुट हुनेछ । प्लटिङ गरेर स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्ने छ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउनेछ ।
खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
‘अब कुनै बहानामा खेतीयोग्य जमिन प्लटिङ गर्न पाइने छैन,’ उनले भने, ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिनेछैनौं ।’
नगरपालिकाको तथ्यांकअनुसार १६२.१८ वर्गमिटर क्षेत्रफल रहेको सैनामैनाको करिब ९० प्रतिशत भूमि खेतीयोग्य छ । पछिल्लो समय जनसंख्या बढ्ने तर प्लटिङले खेतीयोग्य जमिन मासिनेक्रम तीव्र छ । नगरप्रमुख कार्कीले खेतीयोग्य जग्गा किन्ने र बाँझो छाड्ने प्रचलन रोक्न यस्तो गरिएको बताए । ‘कि जग्गावाला आफंैले जे खेती गर्न मिल्छ गरून् नभए उनीहरूबाट जरिवाना लिएर नगरपालिकाले अरू किसानलाई भाडामा दिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया