काठमाडौं । नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी समेत गरे । उनले भने, ‘आ. व. २०७६/०७७ मा २ अर्व ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आ.व. २०७७/०७८ मा ३ अर्व ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । करिब एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्राएको तथ्यांकमा देखियो । यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अबको ३ वर्ष भित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्ब विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।’
बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार ।’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे । बोर्डले हरेक वर्षको वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दाबढी यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया