दमक । भाइरल ब्याइ अशोक दर्जीलाई बेपत्ता पारेको भन्दै संगीतकार टंक बुढाथोकीमाथि उजुरी परेको छ । उनीमाथि दमक नगरपालिका–२ को वडा कार्यालयमा निवेदन परेको हो ।
दर्जीलाई परीक्षा चलिरहेको बेला भोलि ल्याइदिन्छु भन्दै गत असार २३ गते लगेर फिर्ता नल्याएको भन्दै उर्लाबारीस्थित बेथल बोर्डिङ स्कूलका प्रिन्सिपलले निवेदन दिएका हुन् । साथै उनले उजुरीमार्फत कार्यालयमा दर्जीलाई झिकाउन मागसमेत गरेका छन् ।
निवेदनमा संगीतकार बुढाथोकीले अशोक दर्जीलाई परीक्षा चलिरहेको समयमा स्कूलमा आई भोलि ल्याइदिने भन्दै अपहरण शैलीमा दर्जीलाई लगेको लेखिएको छ । यही विषयलाई लिएर उनले सम्बन्धित व्यक्तिलाई झिकाई पाऊँ भन्दै निवेदन दिएका हुन् ।
स्रोतका अनुसार बेथल स्कूलले बाह्र कक्षासम्म निःशुल्क शिक्षा दिने भन्दै अशोक दर्जीसँगै उनका केही साथीलाई पनि विद्यालयमा भर्ना गरेको थियो ।

परीक्षा चलिरहेको समयमा आएर उनले अशोक दर्जीलाई काठमाडौं लगेका थिए । केही दिनअघि प्रिन्सिपल न्यौपाने र टंक बुढाथोकीका दाइबीच भएको कुराकानी पनि सार्वजनिक भएको थियो ।
प्रिन्सिपलले लिखित रुपमा सम्झौता भइसकेकाले नियम पूरा गरेर बच्चा लैजान आग्रह गरेका थिए । तर, टंक बुढाथोकी भने अशोक दर्जीका बाबुआमाको इच्छाअनुसार भन्दै काठमाडौं पढाउने भनेका थिए ।
निवेदनमा बाल गायक अशोक दर्जीलाई उर्लाबारीस्थित बेथल बोर्डिङबाट भोलि नै फिर्ता ल्याउँछु भन्दै असार २३ गते लगेको र आजसम्म पनि उपस्थित नगराएको हुँदा बेपत्ता बालक र अपहरण शैलीमा बच्चा लाने व्यक्तिसँग यस कार्यालयमा उपस्थित गराइदिनु हुन अनुरोध छ भन्ने व्यहोरा समेटिएको छ ।
यस विषयमा केही दिन पहिले गाउँमै कचहरी समेत बसेको थियो ।
दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटाले सम्बन्धित व्यक्तिलाई झिकाउने प्रक्रिया थालेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया