काठमाडौं । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले असन्तुष्टि जनाएपछि गृहमन्त्री बालकृष्ण खाँण बुधबार दिउँसो नै भरतपुर जाँदै छन् ।
कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई खटाएका हुन् ।
काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले प्रधानमन्त्री देउवाको निर्देशनपछि चितवनमा गठबन्धन बलियो बनाउने गरी भूमिका खेल्न आफू त्यसतर्फ जान लागेको बताए ।
‘म भैरहवा जाने कार्यक्रम थियो । तर, सभापतिज्यूले ‘तिमी चितवन जाऊ, र पार्टीका साथीहरूसँग छलफल गरेर गठबन्धनलाई अघि बढाउने काम गर्नू’ भन्ने निर्देशन गर्नुभयो, म साढे दुई बजेको फ्लाइटबाट चितवन जाँदैछु,’ कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भनेका थिए ।
भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् ।
गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया