काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।
महिला अधिकारकर्मी समेत रहेकी नेतृ देउवाले महिलाहरुको समस्या समाधानका लागि जिल्ला–जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाएकी छिन् ।
बुधबार ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले महिला विकास कार्यालय जिल्लाजिल्लामा नहुँदा महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने काममा समेत एकदमै अप्ठ्यारो परिरहेको स्पष्ट पारिन् ।
नेतृ देउवाले घरघरमा गएर महिला, बालिबालिका र ज्येष्ठ नागरिकहरुलाई सहज सेवा दिनका लागि हरेक स्थानीय तहमा सेवा केन्द्रहरुको स्थापना गर्ने कुरालाई सरकारले छलफलमा अघि बढाएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताएकी छिन् ।
नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी प्रमुख एसएसपी किरण शर्माले पछिल्ला दिनहरुमा महिला हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला निकायहरुबीच बलियो सहकार्य हुुनुपर्ने आवश्यकता औँल्याइन् ।
उनले महिला हिंसा हुने तर त्यसको उजुरी दिन पाउने अवसर समेत महिलाहरुले पाउने अवस्था नभएको पनि बताइन् ।
कार्यक्रममा बोल्दै महिला, विकास र कानुन मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि सबै स्थानीय तहमा मनोसामाजिक परामर्श केन्द्रहरुको व्यवस्था हुनुपर्ने बताइन् ।
उनले महिलामाथि हिंसा हुने तर त्यसको नियन्त्रणका लागि राज्यका निकायहरु जिम्मेवार नहुने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने बताइन् ।
कार्यक्रममा पछिल्लो ६ महिनामा मात्रै देशभरमा घरेलु महिला हिंसासम्बन्धी १४ हजार २ सय ३२ उजुरी पर्न आएको तथ्यांक पनि सार्वजनिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया