‘नाइँ नभन्नु ल ५’ को गीत रिलिज, स्वस्तिमाले कतिपटक नाइँ भनिन्?

काठमाडौं । नाइँ नभन्नु सिरिजको पाँचौ चलचित्र ‘नाइँ नभन्नु ल ५’ को एक गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर फिल्म युनिटले गीत सार्वजनिक गरेको हो । कार्यक्रममा स्वस्तिमा खड्का, निर्देशक विकास आचार्य लगायतका कलाकार उपस्थित थिए ।

सोसियल ड्रामा उक्त फिल्मको गीतमा प्रेमका शब्दहरु उनिएको छ भने गीतको भिडियोमा ‘नाइँ नभन्नु ल’ लाई छुटाइएको छैन । आधुनिक शैलीको यो गीतमा स्वस्तिमा खड्का र अभिषेक नेपाललाई फिचरिङ गराइएको छ भने सेड्रिना शर्माको पनि सानो भूमिका देखाइएको छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक विकास राज आचार्यले यो फिल्ममा मुख्य अभिनेताको भूमिकालाई सस्पेन्स राखिएको बताए ।

‘आज गीत रिलिज कार्यक्रम हो, मैले बोल्ने खासै केही छैन, उहाँहरु नै बोल्नुहुन्छ ।’, उनले भने ।

साथै कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले छायांकन गर्दा धेरै रिटेक लिनुपर्ने अवस्था नआएपनि चार दिनसम्म गीतको शूटिङ गर्दा धेरैपटक ‘नाइँ नभन्नु ल’ भनेको बताइन् ।

विकास राज आचार्यले निर्देशन गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । फिल्ममा अभिषेक र स्वस्तिमाका अतिरिक्त दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी लगायतले अभिनय गरेका छन् ।

आज रिलिज भएको गीतमा दिनेश थपलियाका शब्द, मेलिना राईको स्वर र बसन्त सापकोटाको संगीत रहेको छ ।

हरिबोल भण्डारी र गुणराज जोशीले फिल्म निर्माण गरेका हुन् । फिल्मलाई सामीप्यराज तिमिल्सिना र विकास राज आचार्यले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?