काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने दाबी गरेका छन् ।
महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्क समेत गरे । स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताए । अब आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहोर्याए ।
महासचिव पोखरेलले सत्तारुढ कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए । कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ थियो । महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको जिकिर गरे । उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रर्दशन गरेको बताए ।
महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढि विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गरे । उनले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया