वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु

लोकपथ
0
Shares

काठमाडौं । १३ वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ ।

‘शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनहुँ बढिरहेको छ । यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरुमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ ।

विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेका छन् ।’

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानुनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

कन्सल्टेन्सीहरुको दर्ता गर्ने तथा इजाजत दिने निकायहरुलाई यस्ता संघ संस्थाहरुको अनुगमन र निगरानीलाई सघन गरी उदेश्य विपरीतका कार्यमा संलग्नलाई कारबाहीको दायारामा ल्याउन विभागले अनुरोध गरेको छ ।

‘वैदेशिक रोजगार विभागबाट स्वीकृती नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न÷गराउन पाउदैन,’ विभागले भनेको छ, ‘कानुन विपरीतका यस्ता कार्य गरेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मचारी वा सञ्चालकलाई कम्तिमा तीनदेखि सात वर्षसम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको छ ।’

आफूले प्राप्त गरेको इजाजत र उद्देश्य विपरीतका कुनैपनि क्रियाकलापमा संलग्न नरहन सम्बन्धित कन्सल्टेन्सीहरुको विभागले ध्यानाकर्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?