डा. गोविन्द केसीसँग ‘डिल’ गर्न तयार छौंः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोविन्द केसीको माग पूरा गर्न संसदबाट मात्र सकिने बताएका छन् । उनले गोविन्द केसीको काम नै अनशन बस्ने भएकाले संसदभन्दा बाहिरबाट माग पूरा गर्न नसकिने बताएका हुन् ।

पुष्पलाल स्मृति दिवसका अवसरामा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र डाक्टर गोविन्द केसीप्रति आक्रोश पोखे ।

साथै प्रचण्डले असोज १७ गतेदेखि मिलेर चुनावमा जान्छौं भनेदेखि नै आफूहरुमाथि षडयन्त्र गरेको बताए ।

डाक्टर केसीको मागबारे बोल्दै उनले प्रक्रियामा गएर समस्याको समाधान हुने बताए । ‘डा. गोविन्द केसीले पहिलो चोटी अनशन बसेको बसेको होइन, १५ औं पटक हो, लोकतान्त्रिक भन्ने सरकारको बेलामा नै सबैभन्दा बढी बस्नुभएको हो, उहाँहरु त्यतिबेला के हेरेर बस्नुभएको थियो?’, उनले भने, ‘गोविन्द केसीको अनशन नेपाली समाजले पचाइसकेको छ, उहाँको काम अनशन बस्ने हो, बसिरहनु हुन्छ ।’

साथै उनले गोविन्द केसीको हत्या गरेर कांग्रेसले केसीको लाशमाथि राजनीति गर्न खोजेको भन्दै आक्रोश पोखे । उनले भने, ‘उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो, तर, अर्को पक्ष हत्या गर्न चाहन्छ, लाशको राजनीति गर्न चाहन्छ ।’

कार्यक्रममा प्रचण्डले आफ्नो धेरैजसो समय नेपाली कांग्रेसलाई गाली गर्नमा बिताएका थिए । साथै उनले आफूहरु गोविन्द केसीसँग ‘डिल’ गर्न पनि तयार भएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?