निर्वाचन आयोगले भोलिबाट मतपत्र ढुवानीको काम सुरु गर्ने

लोकपथ
77
Shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख १३ गते (भोलि)बाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ ।

निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाइकार्य जारी रहेको बताएका छन् ।

उनका अनुसार हालसम्म ६ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुरअनुसार कारबाही हुने चेतावनी पनि दिएका छन् ।

निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही वैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुन : निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शर्माले भने, ‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ । स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आह्वान गर्दै आएको छ । आचारसंहिता विपरित हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, र्‍याली, भेला, बैठक, घरदैलो उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ बाई ३ फिट साइजको दलको एउटा झण्डा र चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको ए फोर साइजको एक रङमा छापिएको विवरणबाहेक अन्य कुनै पनि सामग्री प्रयोग नगर्न, नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्तो भेटिएको उम्मेदवारले राखेको ठानी आचारसंहिता उलंघन भएको कसुरमा दलको उम्मेदवारलाई कार्वाही हुने भएकाले सचेत रहनु आयोग सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छ । साथै जुलुस, आमसभा, र्‍याली, बैठक आदिमा भाग लिन वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरित हुने गरी सम्बन्धित दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागिदार हुन भएकाले यस्तो कार्यबाट सचेत रहन आयोग सबैमा अनुरोध गर्दछ । निर्वाचन आयोगको निर्देशनबमोजिम २०७८ चैत्र १५ गते भित्र सरुवा, काज वा पदस्थापना भएर कर्मचारीहरु खटिएको कर्मचारीहरु तत्काल निकायमा खटिन वा हाजिर हुन नगएको गुनासो आयोगमा प्राप्त हुन आएकाले स्थानीय तह निर्वाचन २०७९ का लागि मतगणना तथा मतदानका लागि खटाउने प्रयोजनका लागि २०७९ वैशाख १५ गते भित्र अनिवार्य तत्काल निकायमा हाजिर हुन पठाउने व्यवस्था मिलाउन सरोकारवाला सबैमा पुन निर्देशन गर्दछ । मिति ७९ वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ३ हजारसहित करिब ८० प्रतिशत मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी छ । निर्वाचनको लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को पर्यवेक्षणका लागि कुल ६ वटा संस्थाले आयोगमा अनुमति लिईसकेका छन् । ती संस्थाबाट करिव २० हजारभन्दा बढि पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । सोको उपर आवश्यक चेकजाँच गरी आयोगले पर्यवेक्षकहरुलाई पर्यवेक्षण गर्ने मतदानस्थल समेत तोकि परिचयपत्र जारी गर्नेछ । पर्यवेक्षण अनुमति प्राप्त संघ, संस्थाका प्रतिनिधिहरुका लागि आयोगले वैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ । आसन्न स्थानीय तह निर्वाचन २०७९ सँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्याम एवं सरोकारवालाहरुका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगले प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोकिएको छ । सहसचिव निर्वाचन आयोग तुलसीबहादुर श्रेष्ठ, सहन्यायाधिवक्ता निर्वाचन आयोग गुरु वाग्ले ।’

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?