तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मनोनयन दर्ता सुरु भएको छ । निर्वाचनका लागि उम्मेदवारी प्रकृया सुरु भएको पहिलो दिन उम्मेद्वारको मनोनय दर्ता उत्साहजनक भएन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय दिनभर सुनसान भएका छन् ।
नौ स्थानीय तहमा ज्यादै न्यून उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । जिल्लाको घिरिङ गाउँपालिकामा त एक जनाको पनि मनोनयन दर्ता हुन सकेन् ।
ठुूला दलले उम्मेद्वारको टुंगो लगाउन नसक्दा मनोनयन दर्ताको पहिलो दिनमा रौनक छाउन सकेन् । नेकपा एमालेसँगै सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीले उम्मेद्वारको टुंगो लगाउनै सकेका छैनन् । सत्ता गठबन्धन दलमा त अझ भागबण्डा सहमति समेत हुन सकिरहेको छैन् । ठूला अधिकांश दलले सोमबार मनोनयन दर्ता गराउने बताए ।
व्यास नगरपालिकामा २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । व्यासको मेयरमा तीन जनाले उम्मेद्वारी दर्ता गराए । विवेकशील साझाबाट रमेशप्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेसनबाट अनिता थापा मगर र स्वतन्त्रबाट पार्वती कार्कीको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले बताए ।
उपप्रमुखमा मंगोल नेशनलकी श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुले पनि दर्ता गराएका छन् ।वडाध्यक्षमा विवेकशिल साझा, मंगोल नेशनल अर्गनाइजेशसन, राप्रपा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरेर आठ जनाको मनोनयन दर्ता भएको छ । वडा सदस्यमा नौ जनाको उम्मेद्वारी पर्यो ।
भानु नगरपालिकामा एक उपप्रमुख सहित १५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मिनबहादुर कुंवरले जानकारी दिए । बन्दीपुर गाउँपालिकामा अध्यक्षमा स्वतन्त्रबाट केशव अधिकारीको मात्र उम्मेदवारी परेको छ ।
आँबुखैरेनी गाउँपालिकामा अध्यक्षमा विवेकशील साझाबाट उत्सव अधिकारी र राप्रपाबाट इमबहादुर केसीको उम्मेदवारी परेको छ । वडाध्यक्षमा पनि एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।
म्याग्दे गाउँपालिकामा दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । दुई फरक पार्टीले अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दिएको निर्वाचन अधिकृत नवराज आचार्यले बताए । उनका अनुसार अध्यक्षमा मौलिक जरो किलो पार्टीबाट टोलराज वाग्ले र उपाध्यक्षमा राष्ट्रिय जनमुक्ती पार्टीका केशरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
भिमाद नगरपालिकामा आईतबार राप्रापाका उम्मेद्वारले मात्रै मनोनय दर्ता गराएको छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार मेयर उपमेयर सहित सात जनाले मनोनयन दर्ता गराए । मेयर, उपमेयर, चार जना वडाध्यक्ष र एक वडासदस्यको मनोनयन दर्ता भएको हो ।
ऋषिङ गाउँपालिकामा १२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षमा तीन जना र वडा सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।
देवघाट गाउँपालिकामा राप्रपाका चार जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कृष्णप्रसाद आचार्य, उपाध्यक्षमा गंगामाया गुरुङले मनोनयन दर्ता गराए । देवघाट–५ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद पोखरेल र वडा सदस्य चन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थमनसिं थापाले बताए । सोमबार भिडभाड हुने भएपछि दलहरुलाई आलोपालो प्रणाली अनुसार समय दिएको उनको भनाई छ । ‘विहान १० देखी १२ बजेसम्म जो आए पनि पाउनु हुन्छ । त्यसपछि समय छुट्याएका छौँ’, उनले भने ।
जिल्लाको घिरिङ गाउँपालिकामा आइतबार मनोनय दर्ता नै हुन सकेन् । दिनभर कुनै पनि दलका र स्वतन्त्र उम्मेद्वार मनोनयन दर्ता गर्न नआएको निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए । दिनभर सुनसान रहेको उनको भनाई छ । ‘दिनभर मनोनयन दर्ता गर्न आउनेलाई कुरेर बस्यौँ । कोही आउनु भएन् । सुनसान रह्यो’, उनले भने ।
मनोनय दर्ताको पहिलो दिन आइतबार शुक्लागण्डकीमा ६ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि दुई मेयर सहित ६ जनाले मनोनय दर्ता गराएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले बताए । मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीका जगदीश काफ्लेले मनोनय दर्ता गराएका हुन् । वडाध्यक्षमा तीन र वडा सदस्यमा एक जनाले मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया