यस्ता छन् कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रका मूख्य एजेण्डाहरु

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूले संयुक्त रुपमा ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेका हुन् ।

‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ नारा राखेर आज सार्वजनिक गरेको घोषणापत्रमा काँग्रेसले समुन्नत नेपालको मार्गचित्र, समुन्नतिका आर्थिक सामाजिक आधार, सबल स्थानीय सरकारका लागि काँग्रेसले लिएको मूलभूत एजेण्डाहरु प्रस्तुत गरेको छ ।

घोषणापत्रमा काँग्रेसले शिक्षा स्वास्थ्य, प्राकृतिक स्रोत वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यमलाई सबल स्थानीय सरकारको खम्बाको रुपमा राख्दै असल शासन त्यसको आधारका रुपमा प्रस्तुत गरेको छ ।

काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि गरी जीवनस्तर उकास्ने, सुशासन कायम गर्ने, सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोडेर लैजाने उल्लेख गरेको छ ।

यसैगरी काँग्रेसले लिने नीतिले उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीति मार्फत वैदेशिक सहयोग अभिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने जनाएको छ ।

संविधानको जगमा समुन्नतिको निर्माण गरी नागरिकको सम्मानित जीवन बाँच्न पाउने अधिकारको सुनिश्चितता नै नेपाली काँग्रेसको ध्येय हुने घोषणापत्रमा उल्लेख छ ।

सूचना प्रविधिको प्रयोग, नागरिकको स्वतन्त्रता र सम्मान, असल शासन र जबाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानूनी तथा संस्थागत क्षमता विकास, स्रोतको उचित व्यवस्थापन, समन्वय, सहकार्य र साझेदारी, सामाजिक रूपान्तरणको मूल अभियान, प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा गर्ने जस्ता विषय काँग्रेसले आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

यस्तै काँग्रेसले आफ्नो घोषणापत्रमा स्थानीय निर्वाचनपछिको पाँच वर्षलाई खेर गएको वर्षका रुपमा चित्रण गर्दै अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात नेकपाको सरकारले गरेको उल्लेख गरेको छ ।

यस्तै यसअघिको सरकार सङ्घीयता विरोधी एकात्मक र नियन्त्रणकारी सरकार रहेको आरोप लगाउँदै काँग्रेसले प्रतिपक्षमा रहेर जिम्मेवार र खबरदारीको भूमिका खेलेको र लोकतन्त्र र संविधानको रक्षार्थ नेपाली काँग्रेसले सरकारको नेतृत्व गरिरहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?