२३ श्रावण २०७९, सोमवार

देशलाई यस्तो नेतृत्वको खाँचो छ

२०७९,बैशाख,१२,सोमवार १०:३३

513
Shares

सरोज सुवेदी । राजनीतिक विषयमा प्राय सबैतिर कुराकानी सुन्न र गर्न पाइन्छ । त्यसै क्रममा आज एक जना लेखकसँग चियासँगै देशको राजनीतिक परिस्थिति र आउँदै गरेको चुनावको विषयमा गफगाफ चल्दै थियो । साथमा एउटा डायरी, ठूलो चस्मा लगाएका दुई छोरा थिए । एक डक्टर क्यानडामा कार्यरत र अर्का छोरा अमेरिकामा सफल इन्जिनियर रहेछन् ।

ओखलढुंगा घर भई हाल कपन बस्ने उहाँलाई देशको चिन्ताले धेरै सताएको पाएँ । कुराकानीकै क्रममा उहाँले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार’ विषयमा म एउटा पुस्तक लेख्दै छु ।

उहाँको यही वाक्यांसले मलाई पूरा दिन मस्तिष्कमा सोला हानिरहेको थियो । साँझको खाना खाएपछि सुत्ने बेलामा उहाँसँगको कुराकानी केही याद आयो र उहाँलाई यो चिठी लेख्न मन लाग्यो । यो चिठीमा मैले उहाँलाई म आम नेपाली युवा आफ्नै देशमा सक्षम भएर प्रधानमन्त्रीलाई उहाँको काम, कर्तव्य र अधिकार सम्झाइदिनू भनी यो लेख प्रस्तुत गरेको छु ।

प्रधानमन्त्री जो लोकतान्त्रिक देशका कार्यकारी प्रमुख हुन् । कार्यकारी प्रमुख भन्नाले मैले बुझेको त्यो पदभन्दा माथि अरु कुनै पद हुँदैन । प्रधानमन्त्रीको कुशल कार्यशैली र नेतृत्वले देशलाई बाटो देखाएको हुन्छ । पूर्ण कार्यकाल प्रधानमन्त्री नपाएको मेरो देशले त्यस्तो प्रधानमन्त्री खोजेको छ, जसले राष्ट्र, राष्ट्रियता र नेपालीको भविष्यको लागि आफ्नो कार्यकाल सुम्पियोस् । ठूला राष्ट्रहरूको छिमेकी भएर पनि नेपाल अखण्ड, सार्वभौम र दक्षिण एसियाकै पुरानो राष्ट्रको पहिचान बोकेको छ । बुँदागत रूपमा प्रधानमन्त्रीलाई मेरो सुझावहरू :

आर्थिक क्षेत्र

आयातमुखी हाम्रो अर्थतन्त्र हुनुको प्रमुख कारण भन्सारमा हुने अनियमितता, सरकारलाई अस्वस्थ राख्न सघाएको भारी करको आय, हुन्डी र मौद्रिक नीतिमा छुट, वित्तीय क्षेत्रले उत्पादन क्षेत्रमा लगानी नगरी नाफा कमाउने उद्देश्यले घर, गाडी, जमिन र विलासी वस्तुहरूको प्रयोगमा र आयातमा छुटले सम्भवतः यो परिस्थिति निम्तिएको हो ।

सानोभन्दा सानो वस्तुहरूमा हुनेगरेको आयातलाई निरुत्साहित गरी स्वदेशमा सम्भव भएसम्म विज्ञान, प्रविधि र आविष्कारको स्रोतमा सरकारले सहयोग पुर्‍याउनुपर्छ जुन प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो कार्यकक्षमा डाकी, विज्ञहरूको टोलीलाई एक्सन प्लान बनाएर त्यसलाई कार्यान्वयन गर्नु आफ्नो नेतृत्व देखाउन सक्नुपर्छ ।

कृषि

७० प्रतिशतभन्दा बढी जनताहरू कृषिमा आबद्ध भएको मेरो देशका प्रधानमन्त्रीहरू मैले गोरु चराएको छु, आली लगाएको छु, मेला पर्म गरेको छु भन्नुहुन्छ । म सोध्न चाहन्छु, महोदय ! हजुरको कार्यकालमा कृषिमा त्यस्तो के आमूल परिवर्तन भयो ? कृषि औजारको आविष्कार, मलखाद, सिँचाइ, बाँधजस्ता विषयमा के उपलब्धि भएको छ ? कृषिमा पनि आयातमुखी हुनु हाम्रो विडम्बना हो ।

जंगलमा साल, सिसौ कुहिएर जान्छ अनि त्यही काठ आयात गर्नुपर्छ भने निकुञ्ज संरक्षित जंगललाई आगो लगाइदिए भैगयो त । फलफूल, तरकारी र तामसी चिज त आफ्नै देशमा उत्पादन हुनुपर्ने होइन ? कृषिमन्त्रीलाई आफ्नो देश कृषिमा आत्मनिर्भर बनाउन के–के गर्नुपर्छ सल्लाह लिनुस् र त्यो सल्लाहलाई नीतिनियम बनाई कडाइका साथ कार्यान्वयन गर्नुस् है ।

शिक्षा

आज शिक्षामा भएको लगानीले २० वर्षपछि देशमा दक्ष जनशक्ति उत्पादन भएको हुनेछ । शिक्षालाई व्यापार बनाइएको छ । उच्च राजनीतिक व्यक्तित्वहरूले कलेज, विश्वविद्यालयमा आफ्नो कालोधन लगानी गरेका छन् ।

सरकारी सेवा, सुविधामा भएका व्यक्तिले छोराछोरी विदेशमा, नभए नेपालमा महँगो विद्यालयमा पढाउँछन् कसरी ? प्रधानमन्त्रीज्यू, कृपया आज शिक्षामन्त्रीलाई आफ्नो कार्यकक्षमा बोलाउनुस् । साथमा शिक्षाविद् र बौद्धिक वर्गलाई राखी सरकारी कर्मचारीले आफ्नो बालबच्चालाई सरकारी विद्यालयमा पढाउनुपर्ने बाध्यकारी नीति बनाउनुहोस् ।

बोर्डिङ स्कुलको ट्युसन फीको नियमित अनुगमन गरियोस् । विज्ञान, प्रविधि, साहित्यको साथै नेपाललाई संस्कृत विषयको ज्ञानभूमि बनाउन के–के गर्नुपर्छ नीति सिकाउनुस् ।

छिमेकी राष्ट्रहरूले चन्द्रमा र मंगल ग्रहमा पाइला टेकिसके हजुरलाई लाग्दैन नेपालमा पनि त्यस्ता वैज्ञानिक छन् भन्ने ? हामी नेपाली हो र हामी गर्न सक्छौं तर राष्ट्रको गौरवको आयोजनाहरूबाट अनावश्यक आयोजनालाई कटाई शिक्षामा पनि अब त केही गर्ने कि ?

पानी र बिजुली

पानी र बिजुलीमा उचित नीति नभएकाले आज हाम्रा नदीनाला खेर गइरहेका छन् । प्रशस्त बिजुली निकाल्न सक्ने सम्भावना भएका हाइड्रोपावरहरू प्लेस्टेसनजस्तो भएका छन् । इन्डियाबाट पेट्रोल र डिजलको पाइपलाइन बिच्छ्याउँदा आफ्नो देशको बारेमा किन नसोचेको ? एउटा पिउने पानीको पाइप र बिजुलीको हाइड्रोलाइनको प्रस्ताव नेपालको तर्फबाट गर्नु पर्दैन ।

छिमेकी राष्ट्रि भारतको विहारमा पिउने पानीको अभावमा छ, यसलाई चाणक्य नीतिद्वारा बिहारको मुख्यमन्त्री र मन्त्रीहरूलाई लोभ र प्रलोभन देखाएर नेपालको लागि राम्रो हुने काम गर्नु पर्दैन ? भारत र चीनका विदेशमन्त्री र परियोजना प्रमुखले राजनीतिक दलहरूसँग कसरी झुक्याएर कमिशन बाँडेर आफ्नो दूरदर्शीता देखाएका छन् त्यस्तै दूरदर्शीता अब नदेखाए पानी बगिरहन्छ, बिजुली खेर गइरहन्छ ।

बिजुलीकोे माग पूरा गरेर देशमा अन्तर्राष्ट्रिय कलकारखाना खोल्ने र विदेशी लगानी भित्र्याउने वातावरण मिलाउने कि, कार्यकर्तालाई एउटा कार्यक्रम आयोजना गरौँ, विदेशी कम्पनीका मालिकलाई नेपालमा बोलाई ३ दिनको सेमिनार गरौं, तिमीलाई यति फाइदा हुन्छ, पाटीलाई यति देऊ भनेर हिसाब गर्ने कि ?

स्वास्थ्य

स्वास्थ्यको स्थिति झनै जटिल छ । किन थाहा छ ? डाक्टर पढ्न ५० लाखभन्दा धेरै लाग्छ । अनि विचरा डाक्टरले सेवा गरुन् कि आफ्नो बन्धकी राखेको खेतबारी छुटाउन निजी क्लिनिक खोलून् । कोभिडले हाम्रो स्वास्थ्य पूर्वाधारको वास्तविकता देखाइसकेको छ प्रधानमन्त्रीज्यू ! आज वीर अस्पताल र टिचिङ अस्पताल जानुस् अनि पैसा तिर्ने काउन्टरअगाडि बसी ३० मिनेट हेर्नुस, दुर्गमबाट काठमाडौंमा उपचारको लागि आएका सबै नेपाली हुन् ।

छोराको शल्यक्रिया गर्न आमाले आफ्नो गरगहना बन्धकी राख्छिन् । सन्तानको उपचार गर्न घरबारी सामन्तीको बन्धकमा राखेका छन् । स्वास्थ्य उपचारको दायित्व अब परिवारको मात्र होइन सरकारको हो, नत्र हामीले कर केको लागि तिर्ने ?, नागरिकता, पासपोर्ट र मतदाता परिचयपत्रको लागि मात्र हो त ? महँगा निजी अस्पताल चलाउने र विशेष क्लिनिक चलाउने डाक्टरहरूले कहिल्यै पनि गरिब जनतालाई सेवा प्रवाह गर्न सक्दैनन् ।

प्रधानमन्त्रीज्यू, आज स्वास्थ्य मन्त्रीको कार्यकक्षमा आफैँ जानुस् र सोध्नुस्, स्वास्थ्य सेवाको सुनिश्चितताको लागि स्वास्थ्यमन्त्रीले के–के गर्नुभएको छ ? नीतिनियम बनाउँदा फाइदा जनलाई र निम्नवर्गलाई हुनुपर्छ मैले बुझेको समाजवादमा होइन र ?

प्रधानमन्त्रीज्यू ! पूर्वप्रधानमन्त्रीहरू आलोचित भएका विषयहरू केलाउनुस्, आफ्नालाई होइन, क्षमता र योग्यताको आधारमा नियुक्ति गर्नुस् । त्यस्ता नियुक्तिले जनताको जीवनमा आमूल परिवर्तन मात्र होइन तपाईँको कीर्ति पनि सुनौलो अक्षरले लेखिनेछ । परराष्ट्र नीति प्रमुख हुन्छ, आफ्नो मान, मर्यादा निबिर्सिनुस् । न्यायालयलाई स्वतन्त्र रूपमा कार्यसम्पादन गर्न दिनुस् । अब्बल प्रतिभा भएका नागरिकहरूलाई उचित मार्गदर्शन र सहयोग गर्नुस्, निम्न वर्ग र कम आय भएका जनतालाई प्राथमिकता दिनुस् ।

सुरक्षा निकायलाई नगिजोल्नुस् बरु सक्नुहुन्छ भने जनताको माझमा जानुस्, उनीहरूको दुःख र चोटमा मलम लगाउनुस् । यिनै जनताले तपाईँलाई आफ्नो हाकिम मानेका छन् । कृपया आफ्ना कार्यकर्ताको मात्र हाकिम नबन्नुस् ।

‘धर्मो रक्षित रक्षिता’ भनिन्छ । धर्मको रक्षा भयो भने हाम्रो रक्षा हुनेछ । यसलाई नबिर्सनुस् । राजनीति गर्नुस्, व्यापार व्यवसाय होइन । पूर्वप्रधानमन्त्री मर्दा र उसको वार्षिकी कार्यमा त्यही पार्टीका कार्यकर्ता मात्र देखिन्छन् । हजुर त्यस्तो प्रधानमन्त्री बन्नुस् कि भोलि हजुर परमधाम हुँदा सिङ्गो देश हजुरलाई सम्झियोस् । २०५८ जेठ १९ मा सिङ्गो देश शोकाकुल भएको थियो । म फेरि भन्छु हजुर प्रधानमन्त्री बन्नुस्, राजा होइन ।

जाँदाजाँदै चेसको एउटा नियम बताउँछु । चेस खेलमा राजालाई मन्त्री, हात्ती, घोडा, उँट र प्यादाजस्ता विभिन्न मन्त्रालय सुरक्षा दिएको हुन्छ तब मात्र राजा सुरक्षित हुन्छन् । जब एउटा मन्त्रालयले राजाको सुरक्षको निम्ति आफू होमिन तयार हुँदैन तब राजा असुरक्षित हुन्छन् र त्यो चेक मेट हुन्छ ।

प्रकाशित मिति: २०७९,बैशाख,१२,सोमवार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रेमिट्यान्स आयमा पछिल्लो समय सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तनमा आर्थिक तथा

राधिका ढकाल म एसएलसीपछि पाल्पा क्याम्पस पढदै थिएँ । गर्मी बिदा भएको थियो । असारको समय थियो । असारमास आफू

‘कुनैबेला हाम्रो पार्टीमा पनि सुकिलामुकिला हाबी हुनेछन्, त्योबेला सच्चा कार्यकर्ताले उनीहरुविरुद्ध संघर्ष गर्नुपर्नेछ ।’ : वीपी कोइराला अहिले यस्तै भएको

२०७४ को स्थानीय तह निर्वाचनमा देशका धेरै पालिकाहरुमा रहर लाग्दो उपस्थिती देखाएको नेपाली कांग्रेस यतिबेला गठबन्धनको गोलचक्करमा फसेको छ ।

ताजा समाचार