बसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह : नारामा ‘नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता’ (१५ तस्वीर)

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका समर्थकहरु आइतबार काठमाडौंको बसन्तपुरमा सामूहिक अनशन बसेका छन् । 

डा. केसीको जीवनरक्षाका निम्ति उनका समर्थकहरुले बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन थालेका हुन् । 

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गरेको अनशनमा उपस्थितहरुले लोकपथलाई बताए ।

अनशन बसेका समर्थकले नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता, माफियाको ताँती, ओली सरकारको साथी, यो सरकार कस्तो छ, श्री ३ जस्तो छ, अध्यादेशलाई बमोजिम नै चिकित्सा शिक्षा पारित गर, माफियामुखी ऐन चाइँदैन, डा. केसीमाथिको धरपकड बन्द गर लगायतका पम्पेल्ट बोकेका थिए ।

अनशनमा गोविन्द केसीलाई समर्थन गर्दै युवादेखि वृद्धसम्मले सहभागीता जनाएका छन् । 

यसैगरी चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्ने लगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए ।

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा. केसीलाई काठमाडौँ ल्याएको थियो । हाल डा. केसी शिक्षण अस्पतालमा २३ औँ दिनको अनशनमा छन् । यो डा. केसीको १५ औँ अनशन हो । 

जुम्लाबाट काठमाडौं आएपछि डा.केसीले सरकारले आफ्नो माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका थिए ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको शिक्षण अस्पतालले जानकारी दिएको छ ।


 

तस्वीर : सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?