काठमाडौं । सरकारले मलेसिया जाने कामदारप्रति केही लचकता देखिएको छ । केही महिनादेखि भिसा लागिसकेका कामदार पनि श्रम स्वीकृति नपाएर अड्किएर बसेका थिए ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया जान भिसा लगाइसकेका कामदारलाई नरोक्ने भएको हो ।
नेपालबाट सहजै भिसा लाग्ने र कामदारको पनि माग आउने भएकाले कतिपय म्यानपावर कम्पनीहरु मलेसिया कामदार पठाएर कमाउँदै आएका थिए । सरकारले कडाइ गरेसँगै कतिपय म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् ।
झण्डै हजारभन्दा बढी कामदारहरु भिसा लागेर पनि विदेश जान नपाएको व्यवसायीहरुले बताउँदै आएका थिए ।

सरकारले जेठ २ गतेभन्दा अघि भिसा लागेका सबैलाई मलेसिया पठाउने निर्णय गरेको हो । यता कामदारले पनि पैसा तिरेर पनि काम गर्न नपाउँदा आफूहरु थप समस्यामा परेको बताउँदै आएका छन् ।
मलेसिया जाने कामदारसँग बढी रकम असुलेको, विभिन्न बहानामा पैसा उठाएको भन्दै म्यानपावर व्यवसायीविरुद्ध मुद्दा दायर भएको थियो ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर छ ।’
साथै गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गर्ने पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया