इंग्ल्यान्डमा पारसको सान्दार शतक

काठमाडौँ – कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।

ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे। तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए। शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसँग मिलेर इनिङ्स उकासेका थिए।

दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए। पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले  खुलेर खेले। रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए। दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे। करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए। ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए। नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो। स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए। कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?