काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । सो विषयमा कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए । यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उनले स्पष्ट पारे । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम सुरु गर्ने पनि उनले बताए । आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पुरा गरिसकेको उल्लेख गरे । उनले भने– ‘आजबाट हाम्रो सबै ७५३ स्थानीय तहमा निर्वाचन कार्यालयहरु खुलिसकेका छन् । यसको तात्पर्य सबै निर्वाचनको माहोलमा सहभागी हुनुहुने मतदाता, उम्मेदवार र त्यसलाई सहयोग गर्ने समुच्च समुदाय आजबाट निर्वाचनमा होमियो । कुनै हालतमा अब किन्तु, परन्तु छैन भन्नेकुरो छ्याङ्गै बुझ्नुभएको छ । किनभने हाम्रो ७५३ तहमा निर्वाचन कार्यालय खुलिसके । ति निर्वाचन कार्यालयहरु आफुले गर्नुपर्ने कार्यतालिका जुन निर्वाचन आयोगले दिएको छ । त्यो कार्यतालिका अनुसार उहाँहरुले काम सुरु गरिसक्नु भएको छ । यता निर्वाचनका व्यवस्थापनका कामहरु पनि लगभग हामीले सकिसक्यौँ । सामान खरिद गर्ने, तत् तत् ठाउँमा पु¥याउने लगायतका विविध व्यवस्थापनका कामहरु सकिए । अब के बाँकी हो भने दलहरु तर्फबाट अथवा स्वतन्त्रबाट आउने उम्मेदवारहरुले मनोनयन पत्र दाखिल गर्न बाँकी भो । त्यो दाखिल भएको मनोनयन पत्रको हकमा दाबी, विरोध, उजुरी लगायतका कुराहरु पनि आउने भए । र त्यसलाई अन्तिम निर्णय गरिसकेपछि उहाँहरु अन्तिम उम्मेदवार हुनुुहुन्छ ।’
आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराउने उनले विश्वास व्यक्त गरे । निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पर्याउने उनले बताए । सामग्री अभावका कारण निर्वाचन नरोकिने उनले प्रष्ट पारे । उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया