काठमाडौं–परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् । उनले भने,‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विधेयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनशन स्थगन गर्नुपर्छ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाएको बताउँदै भने,‘तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिईएन, उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो, सरकारको सर्वोपरी कुरा उहाँको जीवन रक्षा गर्नु थियो, त्यसैले हामीले उहाँलाई हिजो हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं।’
उनले सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै भने,‘अस्पतालमा ढुंगामुढा किन गरियो ? यसको जवाफदेही को हुन्छ ? उहाँले असल मनशायले अनशन बस्नुभएको हो, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन्, उहाँको अनशन र आन्दोलनलाई हतियार बनाए, यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ।’ डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरु लाग्न दिन नहुने उनको भनाई थियो ।
ज्ञवालीले अघि थपे,‘त्यसैले डाक्टर केसीले अब भन्नुपर्छ मैले त असल मनशायका साथ अनशन बसेको थिएँ, तर केही राजनीतिक दल र गलत तत्वहरुले आफ्नो स्वार्थसिद्धीको माध्यम बनाउन थाले त्यसैले म यसबाट अलग भएँ भन्नुपर्छ, उहाँले अनशन स्थगित् गर्नुपर्छ, सरकारले वार्ता टोली बनाएको छ, हामी वार्ता गर्न सदैव तयार छौं, तर कसैले डाक्टर केसीको आन्दोलनलाइ राजनीतिकरण गर्न खोज्छ भने हामीलाई स्विकार्य छैन्।’ डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको उनको विश्वास छ ।
मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्विकार्दै अहिले यसबारेको बहस बरालिएको सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया