काठमाडौं । काठमाडौंमा दश वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिन सरकारलाई दबाब दिँदै जुम्लामा अनशन बसेका डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौं ल्याएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
डाक्टर केसी २० दिनसम्म जुम्लामा आमरण अनशन बसेका थिए । उनलाई सेनाको हेलिकप्टरले बिहीवार काठमाडौं ल्याएको थियो ।
यतिबेला काठमाडौं शिक्षण अस्पतालमा उपचार गराइरहेका गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् । केसीले अबको १० वर्ष काठमाडौंमा मेडिकल कलेज खोल्न नपाइने, चिकित्सा शिक्षा अध्यादेशका प्रावधान नफेरी विधेयक ल्याउनुपर्ने लगायतका माग राख्दै अनशन बसेका हुन् ।
गोविन्द केसी अनशन बसेको २० औं दिनमा केसीलाई सरकारले काठमाडौं ल्याएको थियो । उता जुम्लामा पनि प्रहरीले अस्पतालभित्रै अश्रु ग्यास प्रहार गरेको थियो ।
यता सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसी तथा जुम्लीवासीमाथि अत्याचार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
सरकारको विरोध गर्दै साहित्यकार नयनराज पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘डाक्टर केसी हाम्रा लागि बोलिरहेका छन्, उनी हाम्रो आवाज बनेका छन्, यस्तोमा उनको नियतमाथि शंका गर्ने, उनको कामलाई गलत भन्ने र उनीप्रति असहिष्णु बोली व्यवहार देखाउनेहरु देख्दा दुःख लाग्छ’, उनले लेखेका छन्, ‘यस्तो लाग्छ, हामी आकाशतिर हेरेर थुकिरहेका छौं र आफैलाई फोहोर गाली गरिरहेका छौं ।’
ट्वीटरमा सेभडाक्टरकेसीको ह्यासट्याग नै चलेको छ ।

त्यस्तै डाक्टर समेत रहेका रामेश कोइरालाले पनि डाक्टर केसीको मागप्रति समर्थन जनाएका छन् । ‘केसीका माग मानिदिएर उनको ज्यान बचाइदिने हो भने म घरमा भएको ६ किलो मार्सी चामल र डेढ लाख नगद दिन पनि तयार ।’, कोइरालाले व्यङ्ग्य गर्दै लेखेका छन् ।
साहित्यकार बुद्धिसागरले ट्वीटरमा लेखेका छन्, ‘आफ्नै मान्छेको मृत्युमा त हामीलाई केही दिन नून छाड्न गाह्रो हुन्छ, गोविन्द केसीले हाम्रा लागि अन्न नै छोडेको यत्तिका दिन भो, अब त बोलौं ।’
‘उपकुलपति र डाक्टरहरुको अपहरणपश्चात् सरकार आज एक सत्याग्रहीलाई अपहरण गर्न लागिपरेको छ, तर आशा छ जुम्ली जनताका अगाडि यिनको केही चल्ने छैन ।’, अभिषेकराज सिंहले लेखेका छन् ।
डाक्टर गोविन्द केसीको समर्थनमा जुम्लीले पनि आन्दोलन गरिरहेका छन् । तर, आन्दोलनलाई दबाबमा पार्न जुम्लीवासीहरुलाई सरकारले दमन गर्ने प्रयास गरेको छ । सामाजिक सञ्जालमा लाठीचार्ज गरेका र यातना दिएका भिडियोहरु भाइरल भइरहेका छन् ।
ट्वीटरमा विजयकुमार पाण्डेले लेखेका छन्, ‘जुम्ला अस्पतालमा बलको प्रयोग, राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सूचीमा बस्नेछ, अस्पतालमा बल प्रयोगको निर्णय, कायर र लाछीले मात्र गर्छ, शत्रु राष्ट्रबीच युद्धकालमा पनि न्यूनतम मर्यादा हुन्छ ।’
कतिपयले ट्वीटरमा प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै डाक्टर केसीको माग तत्काल सम्बोधन हुनुपर्ने बताएका छन् ।
‘लोकतान्त्रिक पद्धतिबाट सरकारमा पुगेर मात्र हुँदैन, लोकतान्त्रिक मूल्य मान्यता जोगाइराख्न विवेकलाई सत्ता–उन्मादको पर्दा लाग्न दिनुहुँदैन, तर सरकार शक्तिको उन्मादमा विवेकमा भोटेताल्चा मार्न उद्धत छ ।’
त्यस्तै फेसबूकमा फिल्म निर्देशक प्रदिप भट्टराईले लेखेका छन्, ‘हाम्रो सरकार कसैको पनि दुःख देख्न सुन्न सक्दैन, त्यही देख्न, सुन्न पर्ला भनेर आँखा र कान थुनेर बसिराछ ।’
सरकारको विरोधमा चर्को आलोचना भएपनि सरकारले भने डाक्टर केसीका मागप्रति खासै लचकता देखाएको छैन । त्यस्तै सामाजिक सञ्जालमा एकथरीले सरकारको चर्को आलोचना गरेपनि कतिपयले भने गोविन्द केसीको विरोध पनि गरेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया