काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै पद पुनर्बहाली भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालय र राष्ट्र बैंक समन्वय गरेर अघि बढेको बताएका छन् ।
बुधबार पद पुनर्बहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गभर्नर अधिकारीले विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउने तर आफूहरुले त्यसलाई पर हटाउँदै समन्वय गर्दै कामलाई जोड दिने गरेको बताए ।
‘हामी व्यक्तिभन्दा पनि गभर्नर संस्था नै हाैँ । अर्थ मन्त्रालय अर्को संस्था हो । विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउँछन् । हामी आफ्नो जिम्मेवारीहरु पूरा गरिराखेका हुन्छौँ । गर्नुपर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौँ नै । त्यसमा कुनै किसिमको आग्रह पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुन्न । हामी समन्वय गरेर काम गर्छौँ’, उनले भने ।
त्यसैगरी भोलिको दिनमा जस्तो किसिमको सर्वोच्चको सुनुवाइ भइ कार्यान्वयन भएर जाँदा राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्वको सम्बन्धमा सकारात्मक सन्देशहरुको आशा गरेको समेत बताए ।
‘भोलिको दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ भई कार्यान्वयन भएर जाँदा यो राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्वको सम्बन्धमा यसरी नै सकारात्मक सन्देशहरु आउने आशाहरु राखेको छु’, उनले भने ।
अर्थमन्त्री जनार्दन शर्माले आफूलाई असहयोग गरेको भन्दै गत बिहीबार निलम्बन गर्दै छानबिन समिति गठन गरेका थिए । तर आफूमाथि लगाइएको आरोप गलत रहेको भन्दै गभर्नर अधिकारी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार अल्पकालिन अन्तरिम आदेश जारी गर्दै काममा फर्किन पाउने बाटो खोलिदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया