तराईको समग्र विकासका लागि वहृत्त योजना बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत्त योजना बनाउने प्रस्ताव गरेका छन् । 

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग बिहीबार साँझ बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् । 

तराईको विकास,चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत्त योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओलीले “तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने” बताए । 

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीले बताए ।  प्रधानमन्त्री ओलीले भने “यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं ।” अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराएका छन् । 

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका छन् । “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुर्नविचार गर्नुहोस् ”प्रधानमन्त्री ओलीले भनेका छन् । 

संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान शंसोध नहुने बताएका छन् ।  प्रधानमन्त्री ओलीले भने, “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं ।” 

राजपामा नेताहरुले तराइको बाढी, दुईवर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराइको विकास, मधेश र थारु आन्दोलनको छानविनका लागिबनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । छलफलका लागि नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र केशव झा बालुवटार आपुगेका थिए । नेताहरुले साँझ ८ बजे देखि प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?